सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यूनतम पारिश्रमिक नदिने सञ्‍चार गृहको नाम सार्वजनिक गर्न माग

२०७६ भदौ २२, ०६:४२ खबर संवाददाता

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चार गृहको नाम सार्वजनिक गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघले सूचना तथा प्रसारण विभाग सँग न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चार गृहको नाम सार्वजनिक गर्न माग गरेको हो।

महासंघका कार्यवाहक अध्यक्ष दीलिप थापामगरसहितको टोलीले आईतबार विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउदै आर्थिक वर्ष २०७६÷०७७ को दरबन्दी र श्रमजीवी विवरण नबुझाउने सञ्चार गृहहरुको नाम सार्वजनिक गर्न र नबुझाउने सञ्चार गृहहरुलाई कानुनी रुपमा विवरण बुझाउन बाध्य पार्न माग गरेको छ।

यो सँगै महासंघले एक हप्ताभित्रै न्यूनतम पारिश्रमिक दिने बाध्यकारी व्यवस्था लागु गर्न आग्रह गरेको छ। महासंघले एक साताभित्र माग पूरा नभए विभागविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। 

यसैबीच बिना कारण निष्काशित गरिएका रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरी भदौ २३ गतेसम्म महासंघलाई जानकारी नदिए भदौ २४ गतेदेखि रेडियो व्यवस्थापनविरुद्ध सशक्त आन्दोलन गर्ने पनि महासंघले चेतावनी दिएको छ।
 

कमेन्ट लोड गर्नुस