सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसले दोस्रो चरणको अभियान सुरु गर्दै

२०७६ भदौ २२, ०४:०१ खबर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंगलबारदेखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गर्दैछ। कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर सुरु गर्न लागेको हो। जागरण अभियानमा कांग्रेसले पहिलो चरणमा जस्तै यस पटक पनि पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायतका मुद्दालाई नै उठाउने भएको छ। पहिलो चरणको जागरण अभियान एक महिना चलेको भए पनि दोस्रो चरणको अभियान भने कांग्रेसले १५ दिनमा सक्दैछ।

मंगलबारदेखि सुरु हुने अभियान असोज ७ गते सम्पन्न हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। पहिलो चरणको अभियान जिल्ला केन्द्रित गरेको कांग्रेसले यस पटक भने हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा जान लागेको हो। पहिलो चरणमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर कार्यक्रम गरेको थियो भने यस पटक जिल्ला भन्दा अझै तल पुगेर ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान चलाउन लागेको हो। अभियानअघि नै कांग्रेसले खाली रहेको पार्टीको प्रदेश कमिटीहरुलाई पूर्णता दिँदैछ। पहिलो चरणको अभियानमा पार्टीका कमिटीहरु निस्कृय रहँदा अभियान सार्थक नभएको भन्दै केन्द्रीय सदस्यहरुले पार्टी कमिटीलाई पूर्णता दिएर मात्रै अभियान सुरु गर्न माग गरेका थिए। पहिलो चरणबाट पाठ सिक्दै यस पटक अभियान सुरु हुनुअघि पार्टी कमिटी बनिसक्ने पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले बताए।

अभियानको पहिलो दिन कांग्रेसले देशैभर बृक्षारोपण गरेर पर्यावरण रक्षाका लागि नयाँ सन्देश पनि दिन लागेको छ। यस पटक कांग्रेसले अभियानको उद्घाटन नै वृक्षारोपण गरेर गर्न लागेको हो। बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीका दिन पारेर अभियान सुरु गर्न लागेकाले प्रत्येक निर्वाचन क्षेत्रले १ सय ६ वटै विरुवा निश्चित स्थलमा वृक्षारोपण गर्ने तयारी छ। कांग्रेसले यो पटकको अभियानमा सामाजिक विकृतिका मुद्दालाई पनि उठाउने बताएको छ। यस्तै, जागरण अभियानका क्रममा कांग्रेसले शहीद परिवार र द्वन्द्व पीडितसँग पनि अन्तक्रिया गर्ने तय गरेको छ।

हिलो चरणको अभियान तल्लो तहसम्म पार्टीको अवस्था कस्तो छ भनेर बुझ्नका लागि गरेको भए पनि यस पटकको अभियान भने कांग्रेसले समग्र विषयमा पार्टीको धारणा स्पष्ट पार्न अभियान अघि बढाउन खोजेको छ। यस पटकको अभियान पहिलो चरणको भन्दा छरितो र अन्तर्क्िरयात्मक हुने पार्टी प्रवक्ता शर्माले बताए।

यस्तै मंगलबारदेखि सुरु हुने अभियानमा केन्द्रबाट खटेर जाने प्रतिनिधिले बढी नबोल्ने रणनीति तय गरेको छ। हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने अभियानका क्रममा त्यहाँका नेता कार्यकर्तासँग अन्तक्रिया गरेर उनीहरुका कुराहरु बढी सुन्ने र केन्द्रीय प्रतिनिधि कम बोल्ने छन्। यस्तो गर्दा स्थानीय नेता कार्यकर्तासँगको सम्बन्ध प्रगाढ हुने र पार्टी सुदृढ गर्न कार्यकर्ता स्तरबाट आएका सुझाव सहयोगि हुने कांग्रेसले विश्वास लिएको छ। 

यस्तै अभियानको औपचारिक कार्यक्रम पनि लम्बेतान बनाइने छैन। पार्टी प्रवक्ता शर्माका अनुसार अभियानका औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सँख्या तथा बढी अन्तक्रियात्मक हुनेछ। अभियानका क्रममा कांग्रेसले समाजका विभिन्न समुदाय, वर्ग, पेशा र क्षेत्रका नागरिकसँगसमेत अन्तक्रिया गर्नेछ। उनीहरुको सरकारसँगको अपेक्षा, आजको समयमा देखिएको परिणाम, अनुभूति र आजको अवस्थामा कांग्रेससँगको अपेक्षाका विषयमा अन्तर्क्िरया गरिने तय गरेको छ।

केन्द्रीय तहबाट अभियान क्रममा हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा एउटा मात्रै सभा निर्धारित गरिएको भए पनि सम्भव भएसम्म स्थानीय तहमा वडास्तरीय सामाजिक संवाद कार्यक्रमहरू गर्ने रणनीति अघि सारेको छ। असोज ७ गते अभियानको अन्तिम दिन भने कांग्रेसले जिल्लास्तरीय विरोध प्रदर्शनको कार्यक्रम गर्ने तय गरेको छ। अन्तिम दिन असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार (वाइडबडी, न्यारोबडी प्रकरणलगायत), बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभाको कार्यक्रम तय गरेको छ।

यस्तै कांंग्रेसले विदेशमा रहेका नेपालीले त्यहीबाटै मतदानको अधिकार व्यवस्थापन गर्नुपर्ने माग पनि अभियानका क्रममा उठाउने भएको छ। अभियानका क्रममा नेपाली जनसम्पर्क समितिहरूले विदेशमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै राजदूतावास र कन्सुलेटमार्फत सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेश गर्ने कार्यक्रम तय गरेको छ। अहिले मतदानका बेला विदेशमा रहेका नागरिकले मत दिनबाट बञ्चित हुँदै आएका छन्। नोट चल्ने भोट नचल्ने भन्दै विदेशमा रहेका नेपालीले विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन पटक पटक माग गर्दै आइरहेका छन्। 

यस्तै कांग्रेसले सञ्चालन गर्ने जागरण अभियानकै बीचमा संविधान दिवस परेको छ। असोज ३ गते पर्ने संविधान दिवसका दिन नेपालको संविधान निर्माणमा ‘कांग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयक’ कार्यक्रम (अन्तक्रिया या विचार गोष्ठी) प्रदेशसभा कार्यसमितिले  आयोजना गर्ने कार्यक्रम पनि तय गरेको छ।

यस्तै त्यही दिन साँझ सबै गाउँ–नगरका चोक बजारमा दीप प्रज्वलन गरेर संविधान दिवस भव्यताका साथ मनाउने तयारी पनि कांग्रेसले गरेको छ। 
 

कमेन्ट लोड गर्नुस