सुदूर नेपाललाई विश्वसँग जोड्दै

उडिरहेको हेलिकप्टरबाट सामान खस्यो

। फोटो स्रोत ।
२०७६ भदौ २२, ०९:५१ खबर संवाददाता

सोलुखुम्बुको फेरामा उड्दै गरेको हेलिकप्टरबाट सामाग्री खसेको छ। फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट गएको बिहीबार सामाग्री झरेको स्थानीयले बताएका छन्। केही समयदेखि फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतको सामाग्री झरेको उनीहरुको भनाइ छ।

कैलाश एयरको माइक लिमा कल साइन भएको हेलिकप्टरबाट सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन्। उड्दै गरेको हेलिकप्टरबाट सामाग्री झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन्। लापर्वाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ।

जिल्ला प्रशासन कार्यालयमा स्थानीयको ध्यानाकर्षण पश्चात् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताए। कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने भन्दै यस्ता कार्यमा कम्पनी जिम्मेवार बन्न प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमरियाले आग्रह गरे।

कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले  त्यसलाई सुधार्ने बताए। ध्यान दिँदा दिँदै पनि गल्ती हुन गएको र आउँदा दिनमा यस प्रकारको घटना नदोहोरिने उनले बताए। हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाएको थियो।

कमेन्ट लोड गर्नुस