सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय हुनुपर्ने माग

२०७६ भदौ २१, ०४:२३ खबर संवाददाता

संघीय सांसद प्रदिप यादवले एसिड आक्रमण गर्नेहरुलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन्। कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्ने उनको तर्क छ। कानुन संशोधनका लागि आफूले संसदमा आवाज उठाउने उनले बताए।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘जसले महिलाको जिन्दगी वर्बाद गरेको छ, उसको पनि जिन्दगी वर्बाद हुनुपर्छ। त्यस्तालाई फाँसीको सजाय हुनुपर्छ। त्यसका लागि कानुन संशोधन गर्नुपरे गरौं।’ कडा सजाय हुन्छ भन्ने डर नभएसम्म यस्ता घटना दोहोरिहने भन्दै उनले अपराध गर्न खोज्नेको मनमा डर पैदा गर्न पनि कानुन संशोधन आवश्यक रहेको बताए।

वीरगञ्जमा शुक्रबार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुन माथि एसिड आक्रमण गरिएको थियो। एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैयाका सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। सांसद यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि मात्रै नभएर शिक्षा र रोजगारीमा समेत सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका छन्।
 

कमेन्ट लोड गर्नुस