सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दाइजो नदिएको भन्दै श्रीमतीको हत्या

२०७६ भदौ २१, ०१:३४ खबर संवाददाता

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटमा एक जनाले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको राजपुर नगरपालिका–७ अकोलवामा रामबाबुले २५ वर्षीया श्रीमती सन्जु देवीको हत्या गरेका हुन्। मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ। बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनको दाबी छ।

जेठी छोरी सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको, तर कान्छी छोरीको बिहेपछि भने जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको उनले बताए।

केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ। प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए। घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए। पोष्टमार्टम पश्चात शव परिवारजनलाई जिम्मा लगाइएको उनले बताए।

कमेन्ट लोड गर्नुस