सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ : मन्त्री पण्डित

२०७६ भदौ १९, ०३:०३ खबर संवाददाता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन्। तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने बताए।

नयाँ र पुराना राष्ट्रसेवकहरु काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाहरुका लागि रोजगारीको बाटो खुल्ने उनले बताए। उनले लोकसेवा विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलनप्रति  आन्दोलन गर्नेहरुले भ्रम मात्र छरेको बताए।

स्थानीय तहमा ९१६१ दरबन्दीका लागि साढे ४ लाख युवाहरुले प्रतिस्पर्धा गरिरहेको बताउँदै मन्त्री पण्डितले भने, “तर केही–केहीले भ्रम छरिरहेका छन्, भ्रम छर्नेहरुको ओठमुख सुकेर गयो अनि हराएर पनि गएका छन्।” जुनसुकै अवरोध ल्याउन खोजेपनि प्रधानमन्त्री र लालबाबु र पण्डितको जतिसुकै पुत्ला जलाएपनि कामलाई अगाडि बढाउने सन्दर्भमा कसैसँग नडराउने मन्त्री पण्डितले बताए। ‘हामी काम गर्ने सवालमा कसैसँग डराउँदैनौं, अनि कसैको लहै–लहैमा पर्दैनौं’ उनले भने।

टिका र आशिर्वादको भरमा जागिर पाउने दिन गएको बताउँदै उनले योग्य, प्रतिस्पर्धामा आउनेहरुले मात्र जागिर पाउने बताए। ‘अस्थायी भए, ज्यालादारी भए करारमा आए मलाई प्रतिस्पर्धा गर्नुपर्देन् स्थायी जागिर हुन्छ भन्ने सोच्नु अब असम्भव छ’ मन्त्री पण्डितले भने।

मन्त्री पण्डितले स्थानीय तहहरुमा कर्मचारीलाई हामीले पठाइरहेको बताउँदै उनले भने, “नपुग कर्मचारी लोकसेवा आयोगमा भर्नाका लागि गएका छन, ९ हजार १ सय ६१ नयाँ कर्मचारी तिहारसम्म आइपुग्छन्।” थप ६ हजारको लोकसेवा आयोगलाई स्थानीय तह र प्रदेशका लागि लोकसेवालाई पत्र दिइसकिएको बताउँदै उनले आवश्यक्ता अनुसार थप विज्ञापन गरिने बताए।

संघीय निजामति ऐन अहिले अन्तिम चरणमा रहेको बताउँदै उनले चाँडै नै अन्तिम रुप दिएर प्रदेश र स्थानीय तहको आधार र मापदण्डबारे संघीय संसदमा निर्णयका निम्ति छलफलमा लगिने बताए।
 

कमेन्ट लोड गर्नुस