सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङ सरकारद्वारा ’विवादास्पद’ सुपुर्दगी विधेयक फिर्ता

२०७६ भदौ १९, ०७:१६ खबर संवाददाता

हङकङमा महिनौदेखि विरोध प्रदर्शन गर्ने लोकतन्त्र समर्थकहरुको संघर्ष अन्ततः सफल भएको छ। हङकङ सरकारले सुपुर्दगी विधेयक फिर्ता लिएको छ। हङकङ सरकारकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने बताएकी हुन्। गएको अप्रिल महिनामा पेस गरिएको विधेयकले आपराधिक क्रियाकलाप गरेकाहरुलाई मुख्य भूमि चीनमा हस्तान्तरण गर्न अनुमति दिन्थ्यो। 

गएको जुन महिनामा विधेयक स्थगन गरिएपछि उनलाई त्यसलाई मृत भनेकी थिइन् तर उनले विधेयक फिर्ता लिन भने मानेकी थिइनन्। विधेयक फिर्ता लिनु प्रदर्शनकारीहरुको प्रमुख ५ मागमध्ये एक थियो। उनीहरु पूर्ण लोकतान्त्रिक अधिकार प्राप्तका लागि पनि प्रदर्शन गर्दै आइरहेका थिए। 

हङकङमा लाखौं मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन, यही विवादास्पद प्रत्यर्पण विधेयकलाई लिएर प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएको थियो।  यो कानुनका अनुसार यदि कुनै व्यक्ति अपराध गरेर हङकङ पुगेको अवस्थामा उसलाई जाँच प्रक्रियाको लागि चीन पठाउन सकिन्थ्यो। हङकङ चीनको एक स्वायत्त द्वीप हो। चीनले यसलाई आफ्नो सम्प्रभु राज्यको हिस्सा मान्छ।  
 

कमेन्ट लोड गर्नुस