सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारा र पर्साका हावाहुरी पीडितका लागि बनाएका ८ सय ६९ घर हस्तान्तरण

२०७६ भदौ १८, ०५:३८ खबर संवाददाता

नेपाली सेनाले बारा र पर्साका हावाहुरी प्रभावितका लागि बनाएको घर हस्तान्तरण गरिएको छ। बिहीबार पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई निर्माण गरिएका घर हस्तान्तरण  गरेका हुन्।

जनता आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरू हस्तान्तरण गरिएको हो। गत वर्ष चैत १७ गते साँझ आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौं मूल्य बराबरको धनमाल क्षति भएको थियो। सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनर्निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माण पूरा गरेको हो। बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनर्निर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८ सय ६९ घर निर्माण गरेको हो।

यस्तै मूल्य अभिवृद्धिकरसहित प्रतिघर रु चार लाख ८४ हजार ८ सय अठासी रुपैयाँ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो। आवास बनाउने काममा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो। 

सो क्षेत्रको पुनर्निर्माण, पुनर्स्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माण कार्य स्थगित गर्नुपरेको थियो। 
कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रमअघि कार्यवाहक प्रधानमन्त्री पोखरेलले बाराको चैनपुरमा निर्माण गरिएको ती घरहरूको अवलोकन गरेका थिए।

 

कमेन्ट लोड गर्नुस