सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालुवाटार जग्गा प्रकरण : अख्तियारले बयानका लागि थप ५८ जनालाई बोलायो

२०७६ भदौ १८, ११:१९ खबर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ। जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित हुन भनेको छ।

अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायत ५८ जनाको नाम छ। कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोरी तथा व्यवसायी मीनबहादुर गुरुङको बुहारी हुन्। त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएकाहरूको सूचीमा छ।

बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा दुरुपयोग प्रकरण केही महिनादेखि चर्चामा छ। यसमा राजनीतिक दलका नेतादेखि उद्यमी तथा व्यापारीहरू जोडिएका छन्। यसबारे केही समयदेखि अख्तियारले छानबिन गरिरहेको छ। यसअघि पनि उसले विभिन्न जग्गा प्रकरणमा जोडिएका व्यक्तिलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो।

कमेन्ट लोड गर्नुस