सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एकजना शिक्षक विरुद्ध अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर

२०७६ भदौ १७, ०४:४२ खबर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरका एकजना शिक्षक विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। कञ्चनपुरको शंकरपुरमा रहेको भानु माध्यमिक विद्यालयमा प्रावी तहको राहात दरबन्दीमा कार्यरत शिक्षक नन्दलाल तिरुवा विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

तिरुवाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट प्राप्त हाइस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी  जागिर खाएको देखिएकाले आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिए।

तिरुवाले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी प्राथमिक शिक्षक राहत कोटाको दरबन्दीमा कार्यरत भएर लाभ समेत लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिमको कसुर गरेको दावी गरिएको छ। तिरूवालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिमको सजायको माग दावी सहित आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस