सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेमा प्रहरीद्वारा फरार प्रतिवादीलाई गोली प्रहार

२०७६ भदौ १६, ०५:५८ खबर संवाददाता

बाँकेमा प्रहरीले एक जनालाई गोली हानेको छ। डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई प्रहरीले गोली हानेको हो। नेपालगञ्ज उप–महानगरपालिकाको राँझाचोक नजिकै प्रहरीले न्यौपानेलाई गोली प्रहार गरेर पक्राउ गरेको हो।
भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरेको थियो। राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बिरबहादुर वलीले जानकारी दिए।

बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। २०६८ सालमा बर्दियाको बाँसगढीमा संयुक्त राष्ट्र संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर उनीहरु फरार थिए।

कमेन्ट लोड गर्नुस