सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशमा सरुवा भएका वरिष्ठ सहसचिवलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन

२०७६ भदौ १५, ०६:१८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरिएका वरिष्ठतम सहसचिवहरुलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ। सरकारले निजामती ऐन अनुसार वरिष्ठ सहसचिवहरुलाई प्रदेश मन्त्रालयका सचिव बनाएर सरुवा गरेको थियो। तीमध्ये कतिपय खटाइएको ठाउँमा गइसकेका छन् भने कतिपय हाजिर भएका छैनन।

संघीय मामिला मन्त्रालयले आइतबार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विभिन्न मन्त्रालय तथा निकायहरुमा पत्राचार गरी सरुवा भएका तथा कामकाज गर्न खटाइएका सहसचिवहरुलाई खटाइएका निकायमा रमाना लिई हाजिर हुन गएको जानकारी तीन दिनभित्र पठाउन भनेको छ।

मन्त्रिपरिषदको भदौ ४ गतेको बैठकले सहसचिवहरुको सरुवा गरी सातै प्रदेशका मन्त्रालयमा वरिष्ठ सहसचिवहरुलाई खटाएको थियो। कतिपय सहसचिवले खटाइएको ठाउँमा जान आनाकानी गरेका तथा कतिपयलाई रोक्न खोजिएपछि प्रदेशको कामकाजमा असर नपरोस् भनेर मन्त्रालयले ताकेता गरेको स्रोतले जनाएको छ।

मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत बोधार्थ पठाई सम्बन्धित प्रदेशबाट अन्यत्र सरुवा भएका कर्मचारीलाई पनि तीन दिनभित्र रमाना दिन भनेको छ। यसैबीच कर्मचारी समायोजनका क्रममा बिभिन्न स्थानीय तहमा खटाइएका कर्मचारीलाई हाजिर हुन नदिएको गुनासो आएपछि मन्त्रालयले समायोजनमा गएका कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको अनुदान कटौती गर्ने चेतावनी दिएको छ।

विशेष गरी काठमाडौं, भक्तपुर र ललितपुरका महानगरपालिका तथा नगरपालिकाले खटिई गएका कर्मचारीलाई दरबन्दी नरहेको भन्दै फिर्ता पठाएका छन्। तत्काल समाधानका लागि त्यस्ता कर्मचारीलाई अन्यत्र काजमा खटाइएको छ।

कमेन्ट लोड गर्नुस