सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–मलेसिया प्राविधिक कमिटीको बैठक बस्ने

। फोटो स्रोत ।
२०७६ भदौ १२, ११:४२ खबर संवाददाता

मलेसिया रोजगारीलाई मूर्त रुप दिन भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ। दुई देशबीच श्रम समझदारी भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मलेसियामा हुने प्राविधिक कमिटीको बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा अहिलेसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ।

बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्यौल अन्त्य गर्ने र ‘मोडालिटी’ तय गर्ने छ । बैठकले समझदारी कार्यान्वयनमा आएको समस्याको समाधान खोज्नेछ। बैठकमा नेपालको तर्फबाट सात सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ। नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव (दुई), परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ।

दुई देशबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसिया रोजगार नियमित हुन सकेको छैन। पहिलो प्राविधिक कमिटीको बैठक श्रम समझारीलगत्तै काठमाण्डौमा बसेको थियो। गत असारमा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा पुगेका नेपाल र मलेसियाका उच्च अधिकारीबीच छिट्टै प्राविधिक कमिटीको बैठक बस्ने सहमति भएको थियो।

नेपाल र मलेसियाबीच गत कात्तिक ११ गते श्रम समझदारी भएको थियो। श्रम समझदारी भएको लामो समय भए पनि मलेसिया नियमित हुन सकेको थिएन। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन्। सरकारले मलेसिया जाने कामदारमाथि चर्को आर्थिक शोषण भएको भन्दै २०७५ जेठमा नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो।
 

कमेन्ट लोड गर्नुस