सुदूर नेपाललाई विश्वसँग जोड्दै

राखेप सदस्य सचिवमा राजनीतिक नियुक्ति नगर्न सांसदको प्रस्ताव

। फोटो स्रोत ।
२०७६ भदौ ११, ०२:५० खबर संवाददाता

सांसदहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरुले राखेप सदस्य सचिवमा राजनीतिक नियुक्ति गर्न नहुने बताएका हुन्। नेकपा सांसद सूर्यप्रसाद पाठकले सदस्य सचिव नियुक्तिका लागि कुनै पार्टीको सदस्य नभएको भन्ने व्यवस्था राख्न प्रस्ताव गरे। उनले आफ्नो संशोधन प्रस्तावबारे भने ‘राजनीतिक दल भन्दा बाहिरबाट सदस्य सचिव ल्याउन सकिन्छ।’

राजनीतिक नियुक्ति हुँदा विगतमा सदस्य सचिव र मन्त्रीबीच सुमधुर सम्बन्ध हुन नसकेको भन्दै सांसदहरुले यसलाई संशोधन गरी खुला प्रतिस्पर्धा वा राजनीतिक दलभन्दा बाहिरबाट लिनुपर्ने बताएका हुन्। राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयकमा हाल खुला प्रतिस्पर्धाबाटै परिषदको सदस्य सचिव नियुक्ति गर्ने व्यवस्था छ। सांसदहरुले सदस्य सचिव नियुक्त गर्दा खुला प्रतिस्पर्धाबाटै र राजनीतिक व्यक्ति भन्दा बाहिरबाट नियुक्ति गर्नुपर्ने बताएका हुन्। सांसद भुपेन्द्रबहादुर थापाले खेलकुदको विकास गर्न र निष्पक्ष बनाउन राजनीतिक प्रभाव भन्दा बाहिरबाट परिषदका सदस्यहरु समेत ल्याउनुपर्ने बताए।

यस्तै सांसद भरतकुमार शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताहरु सरकारले सञ्चालन नगरी महासंघ वा ओलम्पिक कमिटीलाई दिने गरी खेल सञ्चालनको मोडलमा संशोधन गर्नुपर्ने प्रस्ताव पेश गरेका छन्। ‘खेलकुद प्रतियोगिता सरकारले गर्ने होइन, विधेयकमा पुरानै तरिकाले आयो, यसलाई संशोधन गरी महासंघमार्फत खेल सञ्चालन गर्ने गरी ढाँचा नै परिवर्तन गरौं’ उनले आफ्नो संशोधन प्रस्तावबारे भने।

सांसद विन्दा पाण्डेले राखेपको संरक्षकमा प्रधानमन्त्री राखेकोमा पनि असहमति जनाइन्। ‘हरेक ठाउँमा प्रधानमन्त्री संरक्षक भनिएको छ, प्रधानमन्त्रीले कति ठाउँमा भ्याउनुहुन्छ त्यसमा छलफल गरौं’ नेकपा सांसद विन्दा पाण्डेले भनिन्। यसको सट्टा उपराष्ट्रपतिलाई जिम्मेवारी दिन सक्ने उनले बताए।
 

कमेन्ट लोड गर्नुस