सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर र उपमेयरलाई हाफ पाइन्ट लगाएर भेट्न नपाइने

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ भदौ १०, ०२:३३ खबर संवाददाता

कीर्तिपुर नगरपालिकाले मेयर र उपमेयरलाई हाफ पाइन्ट लगाएर भेटन नपाईने निर्णय गरेको छ। भेटघाट गर्न शिष्ट र मर्यादित पोसाकमा आउन अनुरोध गर्दै हाफ पाइन्ट तथा भड्किला लुगा लगाउन रोक लगाएको छ भने भेट्ने समय समेत तोकिदिएको छ। 

नगरपालिकाले एक सूचना जारी गर्दै मेयर र उपमेयरलाई भेट्न त्यस्ता पोसाक लगाउन नपाउने र २ बजेपछि मात्रै भेट्न पाउने निर्णय गरेको हो। चिनजानका मान्छेहरू मनपरी समयमा आउने र अमर्यादित ढंगले हाफ पाइन्ट लगाएर आउन थालेपछि यस्तो सूचना निकाल्न परेको नगरपालिकाले जनाएको छ।

‘सेवाग्राहीभन्दा पनि बढी चिनजानका मान्छेहरू कार्यालयभित्र हाफ पाइन्ट लगाएर आउन थाले, त्यसलाई निरुत्साहित गर्नका लागि सूचना निकालेका हौं,’ कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले भने, ‘हाफ पाइन्ट पनि मनपरी ढंगको भएपछि बाध्य भएका हौं।’

किसान तथा अन्य सेवाग्राहीभन्दा पनि आफ्नै चिनजानहरूलाई आफूले भन्दा भन्दा थकित भएपछि सूचना निकालिएको प्रमुख महर्जनले बताए। नगरपालिकाले यसरी सूचना निकालेपछि आलोचना भइरहेको छ। कतिपयले सुट–पाइन्ट लगाएर आउन पर्ने लगायतका अनेक अर्थ लगाएको प्रमुख महर्जनले गुनासो गरेका छन्।

यस्तै आवश्यक कामकाजका लागि आएका जो कोहीलाई पनि भेट्न रोकतोक भने नभएको बताएका छन्।

कमेन्ट लोड गर्नुस