सुदूर नेपाललाई विश्वसँग जोड्दै

मान्छे मार्ने बाघ नियन्त्रणमा

। फोटो स्रोत ।
२०७६ भदौ ९, ०२:४० खबर संवाददाता

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँमा आएर मान्छे मार्ने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ।  बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खाने पानी ट्याङ्की टोलमा आइतबार बिहान एक वृद्धलाई मार्ने पाटे बाघ निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो।

बाघलाई ‘डार्टगन’ (लठ्याउने सुइ) मार्फत बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए। उनका अनुसार आइतबार बिहान घर नजिक रहेको बंगुरलाई चारा दिन गएका बेला बर्दिया निकुञ्ज भित्रबाट आएको पाटे बाघले ठाकुरबाबा नगरपालिका १ भुरिगाउँका ७० वर्षीय पहरिया थारुलाई आक्रमण गरेर मारेको बाघलाई सोमबार बिहान साढे ८ बजे नियन्त्रणमा लिइएको हो।

अन्दाजी १५ वर्षको पोथी पाटे बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खडकाको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका डार्टगन सुटर रामराज चौधरीसहितको टोलीले नियन्त्रणमा लिएको हो। आइतबार बेलुकादेखिको ठूलो मेहनतपछि मात्र बाघ समातिएको खड्काले बताए। उनले भने, जुन ठाउँमा आइतबार बिहान वृद्धलाई आक्रमण गरेर मारेको थियो त्यही क्षेत्रको झण्डै २ सय मिटरको दुरीमा बाघलाई डार्टगन (लठ्याउने सुइ) प्रहार गरी नियन्त्रणमा लिइएको हो।

चार वटा हात्तीको प्रयोग गरेर आइतबार दिउँसोदेखिको प्रयासमा ‘डार्टगन’को सहायताले बेहोस बनाएर बाघ समातिएको बताइएको छ। बाघलाई बर्दिया राष्टिय निकुञ्ज मुख्यालय ठाकुरद्धाराको खोरमा ल्याएर राखिएको छ। मान्छे मारेको पाटे बाघ बिहानैदेखि सोही क्षेत्र आसपासमा बसिरहेको थियो। बाघले थप घटना नदोर्होयाओस् भनेर बर्दिया राष्ट्रिय निकुञ्जले निकुञ्ज सुरक्षार्थ नेपाली सेना, निकुञ्ज कर्मचारी र प्रहरी खटाएर राखेको थियो।

मान्छे मार्ने बाघ नियन्त्रणमा नआउँदासम्म भुरिगाउँ बजार क्षेत्रका स्थानियवासी त्रसित थिए। बाघ नियन्त्रणमा आएपछि स्थानियवासीमा त्रास हटेको छ। गएको बिहीबार गेरुवा गाउँपालिका–४ मा एक महिलालाई मार्ने बाघलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको निकुञ्जले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस