सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुडासैनी आत्महत्या प्रकरण : युवराज कँडेलको बयान लिन सुरु,रवि लामिछानेको बयान पनि आजै

२०७६ भदौ ९, ११:५२ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा युवराज कँडेलको बयान लिन सुरु गरिएको छ। आइतबार अस्मिता कार्कीको बयान लिइएको र सोमबार कँडेल रवि लामिछानेको बयान लिन लागिएको हो।

बयानका लागि लामिछाने र कँडेललाई बिहान अदालतमा लगिएकोमा पहिला कँडेलको बयान लिने काम सुरु भएको अदातलका श्रेस्तेदार रुद्रमणी गिरीले जानकारी दिए। एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान लिन सुरु भएको उनले भने। कँडेलको बयान सकिएपछि रवि लामिछानेको बयान लिने काम सुरु हुने र त्यो सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने छ।

बयान लिएर बहस गर्ने काम सोमबार नै सकिए अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ। बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने वा नसकिने यकिन छैन। पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश अदालतले दिन सक्छ।

पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलयमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको हो।
 

कमेन्ट लोड गर्नुस