सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा कुटिएकी महिलालाई उपचारका लागि काठमाडौं लगियो

२०७६ भदौ ९, १०:१३ खबर संवाददाता

कैलालीमा जग्गाको सीमाना विवादमा छिमेकीबाट कुटिएकी महिलालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। धनगढीमा १५ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि कैलालीको लम्की चुहा नगरपालिका–८ गप्काकी २५ वर्षीया रामजानकी चौधरीलाई थप उपचारका लागि आइतबार हवाईजहाजबाट काठमाडौं लगिएको हो। 

उनको बायाँ हात र शरीरको एक भाग पुरै चल्दैन भने दायाँ हात पनि कमै चल्छ। उनलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका लागि राखिएको छिमेकी टंक देउवाले जानकारी दिए। कुटिएको ४० दिनसम्म घरमै बेहोस अवस्थामा बसेकी उनलाई धनगढीका महिलाको पहलमा साउन २६ गते धनगढीस्थित सेती अंचल अस्पतालमा लगिएको थियो। 

उनको उपचारका लागि स्वतन्त्र नागरिक समाज धनगढीले रकम संकलन अभियान नै चलाएको थियो। स्थानीयबाट ४४ हजार ४ सय रकम संकलन भएको अभियानकी संयोजक भूमि फुलाराले जानकारी दिइन्। धनगढीका महिलाको पहलमा रामजानकीको उपचारका लागि काठमाडौं लैजान कांग्रेस नेत्री आरजु राणा देउवाले हवाईजहाजको चार वटा टिकटको व्यवस्था गरेकी थिईन्। 

जग्गाको साँध मिचेको आरोपमा छिमेकी यमबहादुर चौधरीको परिवारले उनलाई गत असार १७ गते कुटपिट गरेको थियो। रामजानकीलाई यमबहादुर, उनकी आमा राजदेवी र दिदी लक्ष्मीले बेहोस हुने गरी कुटेको पति तीर्थ चौधरीले बताए। यमबहादुरको परिवार ‘जमिनदार’ हो भने तीर्थको परिवार साढे दुई कट्ठा ऐलानीमा बसिरहेको छ।
 

कमेन्ट लोड गर्नुस