सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने सहितका तीन जनालाई पाँच वर्ष कैद र पचास हजार जरिवाना माग

२०७६ भदौ ८, ०३:५७ खबर संवाददाता

जिल्ला सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको रविका पूर्वसहकर्मी समेत रहेका शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका रवि सहितका दुईजनाको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्धा दर्ता गरिएको हो। प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो।

अब अदालतले उनीहरूको थुनछेक बयान लिनेछ। ब्यान पछि उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस पछि मात्र अदालतले आवश्यक निर्णय गर्नेछ। आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई पक्राउ गरेको हो।माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडिओपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
 
 

कमेन्ट लोड गर्नुस