सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर पुगेर बाबुरामले भने–आन्दोलन चर्काउ

२०७६ भदौ ८, ०७:०८ खबर संवाददाता

टीकापुर– समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भटराईले टीकापुर घटनाको चार बर्ष पुगेको दिन आयोजित राष्ट्रिय सम्मेलनमा थारुहरु अगुवालाई अधिकारका लागि आन्दोलन चर्काउन आग्रह गरेका छन्। टीकापुरमा सद्भावना फैलाउने काम राज्यको भएको बताउँदै उनले अधिकारका लागि आन्दोलन चर्काउन आग्रह गरेका हुन्। सद्भावको नारा आन्दोलनकारीले फैलाउने नभई राज्यले वातावरण तयार गर्नुपर्छ’, भट्टराईले भने, ‘सद्भावको नारा बाँडेर आन्दोलन सफल हुँदैन, त्यसका लागि फेरि पनि आन्दोलन चर्काउन आवश्यक छ।’

उनले प्रधानमन्त्री केपी ओलीलाई थारुहरुले टीकापुरमा गरेको आन्दोलन कसरी गैरराजनीतिक भयो भनेर प्रश्न पनि गरे। टीकापुर आन्दोलन गैरराजनीतिक हुँदा झापाको आन्दोलन कसरी राजनीतिक भयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे।

भट्टराईले टीकापुरमा भएको आन्दोलन र त्यसपछि भएको हिंसाको जिम्मेवारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्। तत्कालिन अवस्थामा तराईलाई थारुवान राज्य बनाउन आफूहरुले प्रस्ताव गर्दा देउवाले तराईको जमिनबाट रौँ को रेख जमिन पनि अन्यत्र जाँदैन भन्ने अभिव्यक्ति दिएको उनको दावी थियो। 

आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष माग्रेन छन्त्यालले आदिवासी जनजाति तथा थारुहरुको आन्दोलन अब झनै चर्किने उद्घोष गरे। कार्यक्रममा लेखक खगेन्द्र संग्रौलाले थारुहरुले न्याय पाउनु पर्ने धारण व्यक्त गरे। पत्रकार किशोर नेपालले हत्या अभियोगमा जेल जीवन बिताईरहेका रेशम चौधरीलाई न्याय नमिलेसम्म शान्ति स्थापना हुन नसक्ने बताए।

कमेन्ट लोड गर्नुस