सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थायी शिक्षक हुन दुई सय पुर्णाँकको लिखित परीक्षामा पहिलो चरणमा ५० नम्बर ल्याउनैपर्ने

२०७६ भदौ ७, ०१:२७ खबर संवाददाता

स्थायी शिक्षक हुन सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ। प्रारम्भिक परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरुमात्र अर्को चरणको परीक्षामा सहभागी हुन पाउने छन्। यसअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो। शिक्षक सेवा आयोग नियमावली (१० औं संशोधन) मा लोक सेवा आयोगको परीक्षा जस्तै सामान्य र विषयगत गरी दुई सय पूर्णांकको लिखित र २५ पूर्णांकको अन्तवार्ता परीक्षा हुने प्रस्ताव गरिएको छ। यसअघि शिक्षकहरुको एक सय पूर्णांकको लिखित र २५ पूर्णांकको मौखिक परीक्षा हुन्थ्यो।

यस्तै सामान्य भनिने प्रारम्भिक परीक्षामा वस्तुगत प्रश्नहरु हुनेछन्। एक सय पूर्णांकको सामान्य परीक्षा मेसिनले जाँच्ने ओएमआर कपिमा दिनुपर्ने छ। सामान्य परीक्षामा कम्तिमा ५० अंक ल्याएर पास भएकाहरु मात्र दोस्रो चरणको लिखित परीक्षा (विषगत)मा सहभागी हुन पाउने छन्। एउटा उत्तर गलत भएमा शून्य दशमलव दुई अंक माइनस हुने छ। वस्तुगतपछि एक सय पूर्णांककै विषयगत परीक्षा हुने छ। वस्तुगत परीक्षामा पास भएकाहरुको ५० प्रतिशत अंकमात्र विषयगत परीक्षाको प्राप्तांकमा जोडिने छ।

यसरी कूल दुई सय पूर्णांकको लिखित परीक्षामा धेरै अंक ल्याउने प्रतिस्पर्धीहरु अन्तिम चरणको परीक्षा अर्थात् अन्तरवार्तामा सहभागी हुनेछन्। अन्तर्वार्तामा पाएको नम्बरसमेत जोड्दा जसले धेरै अंक ल्याउँछ उही नियुक्तिको लागि सिफारिस हुने छ। शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले यो प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिमा छलफलको क्रममा रहेको जानकारी दिँदै  उनले भने, ‘हामीले त पठायौं, उताबाट पास भएर आउन बाँकी छ।’

परीक्षार्थीको संख्या अत्यधिक हुँदा व्यवस्थित तरीकाले परीक्षा सञ्चालन गर्न कठिनाइ हुने भएकाले लोक सेवा आयोगको जस्तै प्रारम्भिक परीक्षामा पास भएकाहरुलाई मात्र अर्को चरणको परीक्षामा सहभागी हुने नियम बनाइएको उनले बताए। उनले भने, ‘यस्तो नियमले परीक्षार्थीहरु छानिन्छन्। थोरै परीक्षार्थी भएपछि समय र आर्थिक खर्च दुवै कम त हुन्छ नै योग्य शिक्षक पनि छनोट हुन्छन्।’

कमेन्ट लोड गर्नुस