सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर घटनाको चार बर्ष

टीकापुर घटनामा ज्यान गुमाएकाहरुको शव धनगढीमा ल्याउँदा/ फाईल फोटो
टीकापुर घटनामा ज्यान गुमाएकाहरुको शव धनगढीमा ल्याउँदा/ फाईल फोटो
२०७६ भदौ ७, १०:४५ खबर संवाददाता

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहार शनिवार ४ वर्ष पूरा भएको छ। भदौ ७ गते भएको थारु आन्दोलनको दौरान प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र एक जना बालकको ज्यान गएको थियो। 

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले झण्डै साढे तीन बर्षपछि फैसला गरेको थियो। कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट विजयी रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला भएको छ।

सासंद चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृज मोहन डगौरा, राजेश चौधरी, विर वहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३९३० नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईएको थियो।

तर श्रवण चौधरी नावालक भएकाले आधा अर्थात १० बर्ष सजाय तोकिएको थियो। यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटिसकेका छन्। 

यस्तै नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिईएको थियो। यसै गरि करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ ९२० बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले थुना मुक्त भईसकेका छन्।

यस्तै फरार रहेका ३१ जना मुद्धा मुल्तवमा रहने छ। घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो। अदालतको उक्त फैसलापछि टिकापुरमा ज्यान गुमाएका परिवारका सदस्यले न्यायको अनुभुती भएको प्रतिक्रीया दिएका थिए भने थारु समुदायमा निराशा थियो। 

प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरि हत्या गरेका थिए। तत्कालीन समयमा मन्त्री परिषदको निर्णय पछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको थियो। तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा रहेको थियो।

घटना भएको झण्डै एक महिना सम्म कैलाली जिल्लाका विभिन्न क्षेत्रमा कफ्र्यु र निषेधाज्ञा जारी गरिएको थियो। उक्त हत्याकाण्डपछि टीकापुर शान्त त छ, यद्यपि त्रास भने अझै सकिएको छैन्। यहीबीचमा भदौ ७ गते नै पारेर थरुहट र थारुवान पक्षधरले आज टीकापुरमै थारुहरुको राष्ट्रिय सम्मेलनको आयोजना गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस