सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी फुटसल लिग सुरु

२०७६ भदौ ७, ०६:२९ खबर संवाददाता

धनगढी फुटसल लिग सुरु भएको छ। फ्ल्याटल्याण्ड फुटसलको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा झण्डै ८० हजार नगद पुरस्कार रहेको धनगढी फुटसल लिग सुरु भएको हो। धनगढीका १६ वटा वैंक तथा वित्तिय संस्थाहरुको सहभागीता रहेको प्रतियोगिताका टीमहरुलाई चार समुहमा विभाजन गरिएको छ। एक समुहमा चार टीम रहेका छन्। लिग चरणका खेल सम्पन्न भएपछि नकआउट चरणका खेलहरु हुनेछन्। 

प्रतियोगिताको उद्घाटन दिनमा लिग चरणका चार खेल सम्पन्न भएका छन्। उद्घाटन खेलमा सनराईज वैंक विजयी भएको छ। सनराईजले सिद्धार्थ वैंकलाई २—० ले हरायो। सनराईजका लागि लक्ष्मी जोशीले दुई गोल गरे। दोस्रो खेलमा कैलाश विकास वैंक विजयी भएको छ।

कैलाशले एनएमवी वैंकलाई ९—२ को फराकिलोे अन्तरले हरायो। कैलाशका लागि रमेश वोहोराले ह्याटिक सहित ४ गोल गरे भने महेश  चौधरीले पनि ह्याटिक गरे। निशान थापा र चन्द्र साउँदले एक एक गोल थपे। एनएमवीका लागि अमन जोशी र महेश चन्दले एक एक गोल फर्काए। 

पहिलो दिनको तेस्रो खेलमा नवजीवन को—अपरेटिभ विजयी भयो। नवजीवनले वैंक अफ काठमाण्डौंलाई ७—३ ले पराजित गर्यो। नवजीवनका लागि निर्मल बमले ह्याटिक सहित ४ गोल गरे भने जीत थापाले ह्याटिक गरे। वैक अफ काठमाण्डौंका लागि महेश  जोशी, विनोद सिंह, दिपेन्द्र ऐरले एक एक गोल फर्काए्। 

चौथो खेलमा सिभिल वैंक विजयी भयो। सिभिलले माछापुच्छे वैंकलाई २—० ले पराजित गर्यो। सिभिलका लागि तिलक वोहोराले २ गोल गरे। यसअघि सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले प्रतियोगिताको उद्घाटन गरे।

फल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वैंकर्स क्लबका अध्यक्ष धर्मसिंह विष्ट विशिष्ठ अतिथि रहेका थिए। सार्वजनिक विदाका दिन हुने प्रतियोगिता झण्डै एक महिनासम्म चल्नेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार सहित टफी मेडल पाउनेछ। उपविजेताले नगद २५ हजार सहित टफी मेडल पाउनेछ। प्रतियोगितालाई सिजी ब्रुअरी नेपालको नेपाल आईसले मुख्य प्रायोजन गरेको छ। धनगढी उपमानगरपालिका प्रवद्र्धक रहेको छ। 
 

कमेन्ट लोड गर्नुस