सुदूर नेपाललाई विश्वसँग जोड्दै

लापरवाही गर्ने कर्मचारीमाथि निगरानी

२०७६ भदौ ६, ०३:३६ खबर संवाददाता

दोलखामा जिल्ला प्रशासनले छड्के अनुगमन गर्न सुरु गरेको छ। छड्के अनुगमनमा बिदा र काज नजनाई अनुपस्थित हुने जिल्ला आयुर्वेद कार्यालय, डिभिजन सिचाईं कार्यालय र गौरीशंकर संरक्षण क्षेत्रको फिल्ड कार्यालय चरिकोटका प्रमुख छन्। कर्मचारीहरु अनुपस्थित भई जनताको काममा बाधा परेको गुनासोपछि छड्के अनुगमण थालिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

अनुगमनको क्रममा १६ वटा कार्यालयका ४२ जना कर्मचारीहरु अनुपस्थित थिए। बिदाको कागज छाड्ने तर हाजिर खातामा नजनाउने तथा लामो समयदेखि बेखवर रहने कर्मचारीहरु छड्के अनुगमनमा भेटिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

कार्यालयमा नै बसिरहनुपर्ने भूमिका भएका कर्मचारीहरु महिनाको २९ दिनसम्म फिल्ड काज जनाएर सुविधा भोग गरिरहेको पनि छड्के अनुगमनमा फेला परेको छ। लामो समयसम्म हाजिर नगरी वेपत्ता भएका कर्मचारीहरु पनि भेटिएको प्रजिअ रिजालले बताए।

उनका अनुसार लापरवाही गर्ने कर्मचारीहरुको सूची तयार गरेर कारबाही प्रकृया अघि बढाइने छ। अनुगमन प्रकृया निरन्तर गरिने पनि उनले जानकारी दिए। राज्यको सुविधामा कर्मचारी पोषाक खरिद गर्ने तर नलगाई कार्यालय जाने कर्मचारीहरु पनि भेटिएको छ। प्रशासनका अनुसार १२ जना कर्मचारीहरु कर्मचारी पोषाक विना कार्यालयमा भेटिएका छन्।
 

कमेन्ट लोड गर्नुस