सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोक्यो

२०७६ भदौ ५, ०४:४४ खबर संवाददाता

सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ। त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो। चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएकाले कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले सम्बन्धित विश्वविद्यालयको पदाधिकारीमध्येबाट कामु उपकुलपतिको जिम्मेवारी दिएको हो।

त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर सुधा त्रिपाठीले पाएकी छन्। बैठकले संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर रमेश ढकाललाई र पूर्वाञ्चलको कामु उपकुलपतिको जिम्मा सिनियर डिन विजुकुमार थपलियालाई दिएको छ। यस्तै कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलियालाई दिइएको छ।

बैठकले त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको सर्च कमिटीको म्याद २० गतेसम्म थप गरेको छ। यसैगरी कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग गठनका लागि सर्च कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
 

कमेन्ट लोड गर्नुस