सुदूर नेपाललाई विश्वसँग जोड्दै

१८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंकका शाखा प्रबन्धक पक्राउ

। फोटो स्रोत ।
२०७६ भदौ ४, ०३:२४ खबर संवाददाता

दाङको नारायणपुरमा रहेको देवः विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा बैंकका म्यानेजर पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका १५ भरतपुर निबासी २९ वर्षीय समिर बुढाथोकीलाई दाङ प्रहरीले पक्राउ गरेको हो।

बुढाथोकीमाथि देवः विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैँया अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो। घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको शाखाबाट कर्जा स्वीकृति नगराइ ऋण प्रवाह गरेको आरोप छ।

वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देवः विकास बैंकसँग गाभिएको थियो। बुढाथोकी विसं २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैंकमा कार्यरत थिए। विगत डेढ वर्षदेखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका थिए। बुढाथोकीले ३५ जना नक्कली ऋणी खडा गरी आफूलाई फाइदा र बैंकलाई नोक्सान हुने गरी पैसा हिनामिना गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ्ग कसुर तथा सजाय ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ।

उनलाई आज उच्च अदालत तुलसीपुरको नेपालगञ्ज बाणिज्य इजलासमा म्याद थपका लागि लगिएको छ। दाङमा वाणिज्य इजलास नभएकोले उनलाई बाँके लगिएको हो।
 

कमेन्ट लोड गर्नुस