सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक हुंदै, भारतीय विदेश मन्त्री एस. जयशंकर काठमाण्डौमा

२०७६ भदौ ४, ०१:२२ खबर संवाददाता

भारतीय विदेश मन्त्री डाक्टर सुव्रमण्यम(एस) जयशंकर नेपाल आएका छन्। बुधबारदेखि काठमाण्डौमा सुरु हुने नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन्।

भारतीय विदेश मन्त्री जयंशकरलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले स्वागत गरेका थिए। विमानस्थलमा भारतीय विदेश मन्त्रीलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी पनि पुगेका थिए।

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार दोस्रो कार्यकालका लागि गठन भएपछि भारतीय विदेश मन्त्रीको यो पहिलो नेपाल भ्रमण हो। भारतीय विदेश मन्त्री एस जयशंकरले दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दिउँसो ३ बजेपछि बैठक सुरु हुने छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुने बताइएको छ। संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ। राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुने कार्यसूची छ।

यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ। बैठकको सुरुमै केही नयाँ समझदारीमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस