सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६ जना सचिवको सरुवा

२०७६ भदौ ४, ११:४३ खबर संवाददाता

सरकारले १६ सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले १६ जना सचिवको सरुवा गरेको हो। प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौता सचिवहरुसँग पनि भैरहेको बेला सरकारले एकैपटक ठूलो संख्यामा सचिवको सरुवा गरेको हो। यसबाट मन्त्रालयको काम छिटो र प्रभावकारी बनाउने उदेश्यका साथ भएको कार्यसम्पादन सम्झौता अलपत्र हुने भएको छ।

सरकारले बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव मोहनकृष्ण सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्याल बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन्। वित्त आयोगमा सार्वजनिक खरिद पुनरावलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई सरुवा गरिएको छ। 

शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलिया युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन्।

लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँ सार्वजनिक खरिद अनुगमन कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. हरि पौडेल राष्ट्रपति कार्यालयमा सरुवा भएका छन्। राष्ट्रपति कार्यालयका सचिव विनोद केसी श्रम तथा रोजगार मन्त्रालयमा र सिँचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।

राष्ट्रिय सर्तकता केन्द्रका माधव बेल्वासेलाई खानेपानी मन्त्रालयमा, भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालयमा र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ।प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल लोकसेवा आयोगमा र प्रदेश ५ का प्रमुख सचिव डा. तीर्थराज ढकाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। 

 

कमेन्ट लोड गर्नुस