सुदूर नेपाललाई विश्वसँग जोड्दै

लाखौँ युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध हुंदैन : कमल थापा

। फोटो स्रोत ।
२०७६ साउन ३२, ०६:०० खबर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन्। राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आयोजित श्रमिकहरुको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युष्टिहरुको दुई तिहाइ सरकार भएको अवस्थामा पनि नेपाली युवाहरुले खाडीमा रगत र पसिना बेचेर आएको रेमिट्यान्सले मात्र मुलुकको अर्थतन्त्र धानिनु दुःखद् भएको बताए।

सरकारले अवलम्बन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै उनले उद्योग व्यवसाय फस्टाउन नसक्नु, आशातित रुपमा आर्थिक वृद्धिदर नबढ्नु गलत अर्थनीतिको परिणाम भएको बताए। विगतका कमी–कमजोरीहरुलाई सच्याएर राप्रपा अघि बढिसकेकोले आगामी निर्वाचनमा कांग्रेस र कम्युनिष्टको विकल्पमा राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गराउन उनले टुकोन मार्फत देशभरका श्रमिकहरुलाई ऐक्यबद्धताको लागि आग्रह समेत गरे।

यस्तै सो कार्यक्रममा सहभागि पार्टीका वरिष्ठ नेता दीपक बोहराले देशमा पर्याप्त रोजगारको सिर्जना नभएसम्म मुलुक समृद्ध नहुने बताउँदै टुकोनले संगठन विस्तार गर्दै यसतर्फ दबाव सिर्जना गर्नुपर्ने बताए। यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आइएलओ सन्धिको पूर्णरुपमा पालना नभएसम्म श्रमिकहरुको उत्थान नहुने धारणा राखे।

कमेन्ट लोड गर्नुस