सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेतृत्वको नेकपालाई आत्मघाती बाटो छोडेर शान्तिपूर्ण बाटोमा आउन आग्रह

२०७६ साउन ३२, ०३:१४ खबर संवाददाता

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालाई आत्मघाती बाटो छोडेर शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेका छन्। सरकारी सम्पत्ति र विदेशी लगानीमाथिको आक्रमण सरकारलाई कदापि स्वीकार्य नभएको भन्दै मन्त्री ज्ञवालीले अब नेपालमा हिंसा कसैका लागि पनि स्वीकार्य नभएको बताए।

गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोबाट विस्थापित बनेकाहरुलाई तेस्रो पटक राहत बाँड्न शनिबार गुल्मी पुगेका मन्त्री ज्ञवालीले नेपाल पत्रकार महासंघ गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्।

उनले वार्ताको बहाना बनाएर आफ्ना कार्यकर्ताहरुलाई छुटाउने र शक्ति सञ्चय गर्ने माध्यमको रुपमा वार्तालाई प्रयोग गरिएमा त्यो सरकारलाई स्वीकार्य नहुँने समेत स्पष्ट पारे। इमान्दारीपूर्वक वार्तामा आउने हो भने विप्लव नेतृत्वलाई रातो कार्पेट ओछ्याएर वार्ताका लागि सधैँभरि ढोका खुला रहेको बताए।

‘हिंसाको सुरुवात गरेर गणतन्त्र र लोकतन्त्रलाई उल्टाएर के व्यवस्था ल्याउन खोजिएको हो?’ मन्त्री ज्ञवालीले विप्लव नेतृत्वलाई प्रश्न गरे। जनताको वर्षौँदेखिको समृद्धिको सपना यही सरकाले पूरा गर्ने बताउँदै उनले  विकास आयोजनाहरुमा दीर्घकालीन र दिगो विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सरकारको ध्यान केन्द्रित हुने बताए।

उनले पालिका र कार्यालयहरुको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति, विकास निर्माण र वस्तुस्थितिको बारेमा पनि जानकारी लिए।

कमेन्ट लोड गर्नुस