सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री बर्खास्त

२०७६ साउन ३१, ०७:०४

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खास्त भएका छन्। बैंकिङ कसुरको पक्राउ पूर्जी जारी भएसँगै मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका हुन्। संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन्।

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई उच्च अदालत पाटनले  मंगलबार ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो। मन्त्री खत्रीलाई पक्राउ पूर्जी जारी भएपछि राजीनामा दिन दबाव दिइएको थियो। तर, राजीनामा दिन नमानेपछि पार्टीसँग छलफल गरी बिहीबार राति मुख्यमन्त्री शाहीले बर्खास्त गरेका हुन्।

उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैंले सम्हाल्ने  प्रेस सल्लाहकार ध्रुव वुढाथोकीले जानकारी दिए। मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने राजुप्रसाद श्रेष्ठ फरार छन्।

उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी र्पुयाएको कृषि विकास बैंकको दाबी छ।
 

कमेन्ट लोड गर्नुस