सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्की पक्राउ

२०७६ साउन ३०, ०४:४४ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्या प्रकरणमा प्रहरीले ओखलढुंगाकीे अस्मिता कार्कीलाई पक्राउ गरेको छ। नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको प्रहरीले जनाएको छ।

कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको स्रोतले जनायो। स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए। तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताए।

उनले भने, ’हाम्रो अनुसन्धान अघि बढिसकेको छ, पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन, यसमा कुनै सन्देह छैन’, ’पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ। हामी यसमा कुनै कमजोरी नगरी अनुसन्धान गर्छौँ। कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन।’ 

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।  पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको बताएको छ।  

पुडासैनीले आत्महत्या गर्नुअघिकोे भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की  पक्राउ परेकी हुन् जनाइएको छ। पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दैछ।  

पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्। 
 

कमेन्ट लोड गर्नुस