सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन महिनामा सोमबारे दर्शन गरेका भक्तजनबाट १२ लाख भेटी संकलन

। फोटो स्रोत ।
२०७६ साउन ३०, ०३:५४ खबर संवाददाता

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा झण्डै १२ लाख रुपैयाँ भेटी संकलन भएको छ। साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल ११ लाख ९८ हजार तीनसय ४० रुपैयाँ भेटी संकलन गरिएको हो। 

अघिल्लो वर्षको साउन महिनामा पनि चारवटा सोमबार परेको थियो भने १३ लाख २७ हजार चारसय ५२ रुपैयाँ भेटी सङ्कलन भएको थियो। गतभन्दा अघिल्लो आर्थिक वर्षमा भने पाँचवटा सोमबार परेको भए पनि ११ लाख ७४ हजार सातसय १५ रुपैयाँ भेटी सङ्कलन गरिएको थियो। गत वर्षको तुलनामा यसवर्ष भेटी सङ्कलनमा कमी आएको छ।  

यस वर्ष साउनको पहिलो सोमबार दुई लाख ७४ हजार एकसय ७७, दोस्रो सोमबारमा दुई लाख ९९ हजार तीनसय २२, तेस्रो सोमबार दुई लाख २९ हजार एकसय ७९ र चौथो तथा अन्तिम सोमबार तीन लाख ९५ हजार ६६२ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। यस वर्ष साउनमा परेका चारवटा सोमबारमध्ये सबैभन्दा धेरै अन्तिम र सबभन्दा कम पहिलो सोमबारमा भेटी संकलन भएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए।

अघिल्लो वर्षको तुलनामा यस वर्ष मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको सङ्ख्यामा कमी आउनुका साथै भेटीसमेत कम सङ्कलन भएको हो। बर्खायाम, खेतीपातीको समय र यातायातको असुविधाका कारण अपेक्षाअनुसार भक्तजनहरु आउन नसकेको उनले बताए।

गलेश्वर मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्यामा भने वृद्धि हुँदै गएको छ। यस वर्षको साउन महिनामा म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, रुपन्देही, नवलपरासी, चितवन, तनहुँ, काठमाण्डौ, बाँके, बर्दियालगायतका जिल्लाहरुबाट गरी झण्डै १ लाख ५० हजार भक्तजनहरुले मन्दिरको प्रत्यक्ष दर्शन गरेका छन्।

मन्दिरमा भक्तजनहरुको सुरक्षाका लागि सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ। भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी र ज्येष्ठ नागरिकको व्यवस्थापनमा लगानी गरिने क्षेत्र विकास कोषले जानकारी दिएको छ। संकलित भेटी कोषको खातामा जम्मा गर्नुका साथै मन्दिर परिसरमा पूर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीको भनाइ छ।

भगवान् महादेवलाई मनपर्ने महिना साउन र सोमबारको दिन भएकाले विशेष गरी हरियो चुरापोते, हातमा मेहन्दी तथा रातो साडीमा सजिएर विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु योग्य वर प्राप्तिको कामना गर्न शिवालयमा जाने प्रचलन रहेको छ। हिन्दू धर्मावलम्बीहरुमा शिवालयमा पुजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहिआएको छ। 

पवित्र कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशीलामाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथको प्रवेशद्वार मानिन्छ भने सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।  

 

कमेन्ट लोड गर्नुस