सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा अत्याधिक गर्मी : २३ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन ३०, १०:४८ खबर संवाददाता

जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको ज्यान गएको जनाएको छ। यो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना अस्पतालमा भिड लागेको थियो। 

ज्यान गुमाएका र बिरामी भएको यो विवरण गएको अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन्। अस्पताल गएका मध्ये ४ सय जनालाई भर्ना नै गर्नु परेको उनीहरुको भनाइ छ। प्रभावित भएका मध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन्। अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९ सय ७७ जना बिरामी भएका थिए।

अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ। जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ। उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४० दशमलव ३ सेल्सीयस पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस