सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारको घटना अनुसन्धानका क्रममा मेक्सिकोमा ६ प्रहरी अधिकारी निलम्बित

२०७६ साउन ३०, ०६:५१ खबर संवाददाता

मेक्सिकोको राजधानी मेक्सिको सिटीमा यो महिनाको सुरुवातमा दुई जना किशोरीको बलात्कार घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी अधिकारीलाई निलम्बित गरिएको छ। न्यायको माग गर्दै ३०० मानिसहरु सडकमा उत्रिएको भोलिपल्ट मेयर क्लाउडियो शेनबामले यस्तो घोषणा गरेकी हुन्। प्रदर्शनमा सहभागी महिलाहरुले ‘उनीहरुले हामीलाई रक्षा गरेनन, हाम्रो बलात्कार गरे’ नारा लगाएका थिए। 

पहिलो घटना गएको अगष्ट ३ तारिखका दिन एक १७ वर्षीया किशोरीले चार जना प्रहरीले बलात्कार गरेको बताएकी थिइन्। त्यस्तै दोस्रो घटनामा एक १६ वर्षीया किशोरीले पहिलो घटनाको केही दिनपछि एक जना प्रहरीले बलात्कार गरेको बताएकी थिइन्। गत बिहीबार दोस्रो बलात्कारको घटनामा संलग्न भएको आशंकामा प्रहरी अधिकारीलाई पक्राउ गरिएको थियो। पहिलो बलात्कारको घटनालाई लिएर भने अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। 

‘दण्डहीनता हुने छैन र कुनै पनि किसिमको दोषारोपण हुने छैन’, मेक्सिको सिटीकी पहिलो महिला मेयर शेनबामले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै भनेकी छिन्। उनले ६ जना प्रहरी अधिकारीलाई किन निलम्बित गरियो भन्ने बारेमा केही बताएकी छैनन्। 

गएको सोमबारको प्रदर्शनलाई ‘उत्तेजक’ को संज्ञा दिएपछि विवादित बनेकी मेयरले अधिकारीहरुले शहरलाई ‘महिलाहरुको सुरक्षित ठाउँ’ बनाउने रणनीति कार्यान्वयन गर्न अधिकार समूहसँग काम गरिरहेको बताएकी छिन्। ‘महिला र केटीहरुमाथि हुने हिंसा अस्वीकार्य छ। म यो सहन सक्दिन’, मेयरले भनिन्। साथै उनले महिला हिंसाविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया लामो भएको हुनाले त्यसलाई परिवर्तन गरिनुपर्ने बताएकी छिन्। 

मेक्सिकोमा महिलाविरुद्धको हिंसा व्याप्त छ र संयुक्त राष्ट्रसंघले दैनिक ९ जना मारिने गरेको आकलन गरेको छ। मेक्सिकोमा बलात्कारको घटना दर्ता गरिएको तथ्यांक कम छ किनभने पीडित समूह भन्छन्, ‘हामीलाई प्रहरीसँग कम विश्वास छ।’ इंग्ल्याण्ड र वेल्समा प्रहरीले सन् २०१८÷२०१९ मा झण्डै ६० हजार बलात्कारका घटना दर्ता गरेको छ भने मेक्सिकोमा यही अवधिमा ९ हजारभन्दा कम बलात्कारका घटना दर्ता भएका छन्।    
 

कमेन्ट लोड गर्नुस