सुदूर नेपाललाई विश्वसँग जोड्दै

टनकपुर नाका खुलाउन सुदूरपश्चिमका मन्त्री र सासंदको माग

फोटा: जिवी चन्दको फेसवुकबाट
फोटा: जिवी चन्दको फेसवुकबाट
२०७६ साउन २९, ०७:०० खबर संवाददाता

कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर नाका खुलाउन र दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको माग गरिएको छ। सुदूरपश्चिम प्रदेशको एक टोलीले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर नाका खोल्न र सुख्खा बन्दरगाह निर्माणका लागि ध्यानाकर्षण गराएका हुन्। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराईएको हो। 

टोलीमा सहभागी कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपकप्रकाश भट्टले ब्रम्हदेबदेखि महेन्द्रनगर बजारसम्म दुई लेनको टनकपुर लिङ्क रोड कालोपत्र भइसकेको र वर्षौदेखि भारतीय स्वामित्वमा रहेको पुल बन्द अवस्थामा रहेकाले खुलाउन पहलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरे। 

बैतडीका सांसद दामोदर भण्डारीले डडेल्धुराको भित्रिमधेसको महाकाली नदीमा पुल निर्माणका लागि भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराउनमन्त्री ज्ञवालीलाई आग्रह गरेका थिए। उनका अनुसार बैतडीको झुलाघाट र तल्लो सोराडमा महाकाली नदीमा पुलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको छ। 

भेटका क्रममा मन्त्री ज्ञवालीले सुदूरपश्चिमका सीमा सरोकारका विषयमा दुई देशका अधिकारीबीच हुने बैठकमा राखिने आश्वासन दिएको सांसदहरुले बताएका छन्। टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा, सांसद भट्ट, भण्डारी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा, पूर्व सांसद कृपाराम राना, पुरन दयाल, प्रदेशसभा सदस्य लीलाधर भट्टलगायत सहभागी थिए। विदेशमन्त्री जयशङ्कर आगामी भदौ ४ गते नेपाल भ्रमणमा आउँदै छन्।
 

कमेन्ट लोड गर्नुस