सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्वतमा चियाखेतीको सफल परीक्षण

। फोटो स्रोत ।
२०७६ साउन २९, ०५:२३ खबर संवाददाता

पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको चिया खेतीको सफल परीक्षण गरिएको छ। गाउँपालिकाले दुई वर्षअघि ३ हजार चियाको बिरुवा लगाएर गरेको खेतीबाट फलामखानीमा चिया खेती परीक्षण सफल भएको हो।
गाउँपालिकाले करिब दुई लाखको लगानीमा ५ रोपनी क्षेत्रफल  भएको सार्वजनिक जग्गामा परीक्षणका रुपमा ३ हजार चियाका बिरुवा रोपेको थियो। अहिले चियाखेती फस्टाउँदै गएपछि र चिया टिप्ने बेला भएपछि खेती प्रभावकारी हुने देखिएको महाशिला गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष जीवन उच्चै ठकुरीले बताए।

गाउँपालिकाले चियाखेतीको सम्भावना बढ्दै गएपछि पालिकामा खटाइएका महाशिला विकास स्वयंसेवकहरुलाई चिया खेतीको सम्बर्द्धन तथा प्रबर्दनमा खटाइएको ठकुरीले बताए। पहिलेको फलामखानी गाविसले समेत जिल्ला विकास समितिको सहयोगमा २०६८ सालमा चियाखेतीको नमुना परीक्षण गरेको थियो। तत्कालीन अवस्थामा उचित संरक्षणको अभावमा प्रभावकारी नदेखिएको चियाखेती पछिल्लो समयमा गाउँपालिकाले त्यसतर्फ ध्यान दिएपछि चिया खेती हुने आंकलन गरिएको हो।

फलामखानीमा चियाखेती प्रभावकारी देखिएसँगै गाउँपालिकाले उच्च भूभागमा रहेका जस्ती २२ सय मिटर उचाइमा रहेको चिसापानी लेक, २२ सय मिटर उचाइमा नै अवस्थित डहरे लेकलगायतका स्थानमा समेत चियाखेतीको परीक्षण गर्ने तयारी गरेको प्रवक्ता ठकुरीले बताए।

चालु आर्थिक वर्षमा समेत गाउँपालिकाले फलामखानीमा चियाखेती प्रर्बद्धनका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यो ५ लाखले महाशिला विकास स्वयंसेवकहरुको सक्रियतामा खेती विस्तार गर्ने र चियाखेतीले उत्पादन राम्रो दिने देखिएमा प्रशोधनको विकल्प खोज्ने योजना रहेको उनले बताए।

गाउँपालिकाले वैकल्पिक तथा अनुकुल खेती विस्तारका लागि चालु आर्थिक वर्षमा जमिन भाडामा लिने योजनासमेत बनाएको छ। चालु आर्थिक वर्षमा कोही कसैले बाँझो खेतीयोग्य जमिन भाडामा दिन चाहेमा महाशिला गाउँपालिकाले भाडामा लिने गरी कार्यक्रम अघि सारेको छ। हालसम्म कोही पनि जमिन भाडामा दिनका लागि तयार नभएको र चिया तथा अलैचीलगायतका खेती विस्तारकै लागि भाडामा लिने योजना सार्वजनिक गरिएको बताए।
 

कमेन्ट लोड गर्नुस