सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको टुङ्गो लाग्यो

। फोटो स्रोत ।
२०७६ साउन २९, ०४:३५ खबर संवाददाता

साउन १ गतेदेखि कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी योगदानकर्ताले रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको टुङ्गो लागेको छ। योगदानकर्ताले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आवद्ध  आइपीएस भएका जुनसुकै बैंक तथा वित्तीय सँस्थाबाट सामाजिक सुरक्षा कोषको नाममा नेपाल बैंकमा रहेको खाता नम्बर ००२११६०६७२००१२०००००२ मा  रकम जम्मा गर्न सक्नेछन्। 

एनसीएचएल नेपाल राष्ट्र बैंकबाट सम्बन्धन प्राप्त संस्था हो। एनसीएचएलसँग २५ वटा बैंक, १९ वटा विकास बैंक र ९ वटा फाइन्नास कम्पनी रहेका छन्। योगदानकर्ताले अनलाइनबाट पनि कोषको खातामा रकम जम्मा गर्न सकिने कोषकी प्रवक्ता रमा भट्टराईले बताइन्। कोषले सूचना निकालेर साउन महिनाको पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रुपमा नियमानुसार सञ्चय कोष र उपदान लगायत आधारभूत पारिश्रमिकको ३१ प्रतिशतले हुन आउने रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्न आग्रह गरेको छ।

सबै रोजगारदाता र श्रमिकलाई सूचीकृत हुन कोषले असोज मसान्तसम्मको समय दिएको छ। सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रक्रियामा रहेका अन्य श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सूचीकृत नहुञ्जेल सम्बन्धित रोजगारदाताले साविक बमोजिम नै योगदान रकम जम्मा गर्न बाधा नपर्ने जनाएको छ। बुधबार बिहानसम्ममा कोषमा ४२ सय भन्दा बढी रोजगारदाता र झण्डै ३५ हजार श्रमिक सूचीकृत भएका छन्। कार्यविधि परिमार्जन गरेर कोषले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।

तर अझै पनि आउनु पर्ने संख्यामा रोजगारदाता कोषमा नआएको प्रवक्ता भट्टराइले बताए। सूचीकृत हुनको लागि असोज महिनासम्मको समय थप गरिएको छ।

कमेन्ट लोड गर्नुस