राजपत्रमा निर्णय प्रकाशन नहुँदा सुदूरपश्चिममा रक्षा बन्धनको विदा अन्यौलमा

खवर संवाददाता
२०७६ साउन २९, ०३:५५
अ+

सुदूरपश्चिम प्रदेश सरकारले रक्षा बन्धनको दिन बिहिवार दिएको सार्वजनिक विदा अन्यौलमा परेको छ। साउन ८ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण पर्वहरुमा विदा दिने निर्णय गर्दा रक्षा बन्धनको दिन समेत विदा दिने निर्णय थियो। तर अहिले सम्म बिदाको निर्णय राजपत्रमा प्रकाशन नहुँदा अन्यौलता बढेको हो। विदाको निर्णय भएको तीन साता सम्म राजपत्रमा प्रकाशन नभएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बिदाको निर्णय राजपत्रमा प्रकाशसन नहुँदा सबै सरकारी कार्यालय खुल्ला रहने बताए। उनले प्रदेश, संघीय र स्थानीय तह मातहतका कार्यालय समेत बिहिवार खुल्ला रहने बताए।

यता आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी लक्ष्मीप्रसाद जोशीले पनि मन्त्रीबाट निर्देशन नआउँदा अहिले सम्म राजपत्रमा विदाको निर्णय प्रकाशन नभएको बताए। उनले राजपत्रमा प्रकाशन नभएपछि मन्त्रालयहरु समेत खुल्ला रहने बताए।