नेपालमा फेला पर्यो अमेरिकी फौजी किरा

२०७६ साउन २८, ०३:५२
अ+

अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको हो। यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले नेपालमा फौजी किरा प्रवेश गरेकोबारे थप अनुसन्धान गरेर केन्द्रलाई जानकारी गराउनु भएको थियो। वैज्ञानिकले अनुसन्धान गरेर नेपालमा फौजी किराको प्रवेश गरेको पुष्टि नै भए पनि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यसको थप परीक्षण सुरु गरेको थियो।

परीक्षणका क्रममा ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासीलगायतका जिल्लाका मकैबालीमा देखिएको फौजी किराको नमुना परीक्षणका लागि भारत पठाइएको थियो। भारत पठाइएको मकैको बोट, पात र डाँठमा रहेको फौजी किराको नमुना परीक्षणका क्रममा पुष्टि भएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको बैठकले नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरेको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए।

‘वैज्ञानिकले फौजी किराको अनुसन्धानपछि नेपाल प्रवेश गरेको बताएका थिए। उनले भने,  हामीले थप अनुसन्धान र परीक्षणका लागि नमुना भारतको बेंग्लोर पठाइएका थियौँ’, केन्द्रका बाली संरक्षण अधिकृत, ‘भारतबाट पनि परीक्षण पुष्टि भएपछि नेपालमा फौजी किरा प्रवेश गरेको औपचारिक घोषणा गरेका हौँ।’यो किराले मकैको पात, डाँठ, घोगाा र बोट नै सखाप पार्ने गरेको छ। मकै उम्रेदेखि नै आक्रमण शुरु गर्ने फौजी किराले बोट नै सखाप पार्ने गरेको छ।

मकैबाली सखाप पार्ने यो अमेरिकी रैथाने फौजी किरा हो। अमेरिकापछि यो किरा सन् २०१६ मा पश्चिमी अफ्रिकामा देखिएको थियो। त्यसको दुई बर्वामै यो किरा पूरा अफ्रिकाभर फैलिएको वैज्ञानिकहरुले बताएका छन्। अफ्रिकालगत्तै सन् २०१८ मा यो किरा एसियामा पहिलो पटक भारतको कर्नाटक राज्यमा देखिएको थियो। यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरुको दाबी छ।

फौजी किराको यही क्षमताका कारण गएको वर्ष भारतका १९ प्रान्तमा फैलिसकेको थियो। भारतसँगै श्रीलंका, बंगलादेश र म्यानमारमा पनि यसको प्रकोप देखिएको वैज्ञानिकहरुले बताएका छन।
त्यसलगत्तै सन् २०१९ को सुरुवातमा थाइल्याण्ड, चीन र भियतनाममा पनि देखिएको थियो। यसक्रममा नेपालका विभिन्न जिल्लामा समेत देखिएपछि नेपाल कृषि अनुसन्धान परिषद नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले अनुसन्धान सुरु गर्नु भएको हो।

अनुसन्धानका क्रममा नेपालमा यो किराले मकैमा क्षति गरेको भेटिएको थियो। नार्कअन्तर्गतको किट विज्ञान महाशाखाले पत्रकार सम्मेलन गरेरै नेपालमा यो किरा प्रवेश गरेर मकैबालीमा नोक्सानी र्पुयाएको घोषणा गरेका थिए। वैज्ञानिकहरुले आफ्नो अनुसन्धानको रिपोर्ट बुझाएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि अनुसन्धान थाल्यो।

झण्डै तीन महिना लामो अनुसन्धानका क्रममा केही नमुना संकलन गरेर केन्द्रले परीक्षणका लागि भारत पठायो। भारतको बंग्लोरमा गरिएको परीक्षणमा पनि फौजी किरा नेपालमा रहेको पुष्टि भएपछि केन्द्रले सोमबार बैठक बसेर यसको औपचारिक घोषणा गरेको हो।

यस्तै नेपालमा पहिलो पटक देखिएको यो किराले मकै बाली पुरै सखाप पार्न सक्छ। मकै उम्रेदेखि नै आक्रमण सुरु गर्ने यसले बोट नै सखाप पार्ने गरेकाले घोगा लाग्ने सम्भावना निकै कम हुन्छ। यसको बढ्दो प्रकोप र नियन्त्रणका उपायका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आउँदो हप्ता छलफल गर्ने जनाएको छ। कृषि, मकैबाली तथा किरासम्बन्धीका सरोकारवाला, सरकारी अधिकारी, संघसंस्था र वैज्ञानिकबीच फौजी किराको प्रकोप नियन्त्रणबारे छलफल हुने केन्द्रका सूचना अधिकारीसमेत रहेका सुवेदीले बताए।

‘अब नेपालमा फौजी किरा प्रवेश गरेको र नोक्सानी गरेको औपचारिक घोषणा भयो। यो सँगै यसको प्रकोप नियन्त्रण कसरी गर्ने भन्ने चुनौती पनि थपिएको छ’, उनले भने, ‘यसका लागि छलफल सुरु गर्दैछौँ। छलफलबाट जे निष्कर्ष आउँछ। त्यहीअनुसार अगाडि बढ्छौँ।’