सुदूर नेपाललाई विश्वसँग जोड्दै

ईदमा कश्मीरमा सुरक्षा व्यवस्था कडा

२०७६ साउन २७, ०२:५४ खबर संवाददाता

ईद पर्वको पूर्व सन्ध्यादेखि नै कश्मीरका सबैजसो मस्जिदहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन्। हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ। स–साना मस्जिदहरु मात्र खुल्ला राखिएको र ती मस्जिदमा ठूलो भिडभाड नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

गएको दुई दिनयता त्यहाँ कर्फ्यू खुकुलो पारिएको बताइएको थियो। तर यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ। जम्मू(कश्मीरलाई नियन्त्रण लगाई केन्द्र सरकारको मातहतमा राख्ने कदमको विरोध भएका कारण कश्मीरमा आठ दिनदेखि सुरक्षा व्यवस्था कडा गरिएको समाचारमा जनाइएको छ। मुसलमानको बाहुल्य भएको जम्मू–कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा रहेका र फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ। 

गएको बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरका नागरिकलाई इद  पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए। जम्मू कश्मीरलाई विशेष महत्व दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपछि कश्मीरमा विरोध हुँदै आएको छ। भारत सरकारको यो कदमपछि विश्वको आँखा भारत प्रशासित कश्मीरको पछिल्लो अवस्थाप्रति केन्द्रित रहेको छ। मुसलमान समूदायको ठूलो पर्व ईदको लागि भारतको नियन्त्रणमा रहेको कश्मीर प्रशासनले आइतबार कतिपय इलाकामा कर्फ्यु खुकुलो पारेको थियो। 

कर्फ्यु खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको सोमबारको ईदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए। त्यस प्रयोजनका लागि सवारी साधन पनि केही खुकुलो पारिएको थियो। आइतबार दिउँसोको १२ बजेसम्म सडकमा नागरिक र सवारी साधनको आवतजावत बढेको कश्मीरबाट प्राप्त भएका समाचारमा जनाइएको थियो। आइतबार कतिपय स्थानमा ट्राफिक जाम पनि भएको बताइएको थियो। 

तर १२ बजेपछि अचानक सुरक्षा व्यवस्थामा कडा गरिएको र मानिसको चहलपहल स्वात्तै घटेको थियो। त्यहाँ अहिले पनि सञ्चार तथा सूचनाका साधनहरु पनि प्राय बन्द छन्। निरन्तरको कर्फ्यु र सञ्चारको अभावमा त्यहाँको अवस्था के कस्तो छ भन्ने बारेमा केही सूचना प्राप्त हुन नसकेको स्थानीयको भनाइ छ। रासस
 

कमेन्ट लोड गर्नुस