सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुसाइड नोटमा अख्तियार प्रमुखलाई ‘२ सय वर्ष बाँच्नुहोस’ भन्दै कर्मचारीले गरे आत्महत्या

। फोटो स्रोत ।
२०७६ साउन २७, ०२:२७ खबर संवाददाता

उदयपुरमा एक जना कर्मचारीले आत्महत्या गरेका छन्। जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० का ५५ वर्षीय पूर्व नायब सुब्बा हरिप्रसाद आर्चायले ’सुसाइड नोट’ लेखेर आत्महत्या गरेका हुन्। शनिबार रातिदेखि सम्पर्कविहीन भएका उनको शव झुण्डिएको अवस्थामा आइतबार बिहान नजिकैको जंगलमा फेला परेको हो। आचार्यले लगाएको टी–सर्टको गोजीमा ’सुसाइड नोट’ फेला परेको प्रहरीले जनाएको छ। 

उनले सुसाइड नोटमा लेखेका छन्, ‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टचारी भए, अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ।’ ‘कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ, सकिनँ, पापी भएँ। वाणिज्य, नेपाल, एनसीसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो ब्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ’, ‘विरेन्द्र काकालगायत छिमेकीले भैँसी, खसी तह लगाइदिनु। आमाको साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु।’

उनले पूर्व गाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालाय झापामा काम गरेका थिए।  उनी झापाबाट मालपोत कार्यालय कलंकी हुँदै समायोजनमा त्रियुगा नगरपालिका पुगेका थिए। त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडा सचिवको रुपमा काम गरेका आचार्य वडा अध्यक्षसँग विवाद भएपछि राजीनामा दिएर घर बसेका थिए।

मालपोत कार्यालय कलंकीमा कार्यरत रहँदा उनी सहित सात जनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रुपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियार प्रमुखको नाममा दुई पानाको ’सुसाइड नोट’ लेखेको पत्र प्रहरीले फेला पारेकाले भ्रष्टाचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ। उनले सुसाइड नोटमा ले्खेका छन्, आफ्नो नाममा पुराण लगाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिनँ, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिएँ। ममीले छोराहरुसँग र सासूसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु। म बिदा भएँ ।

खातामा पैसा छन्, श्रीमती केही जान्दिन, साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौ बस्नु, गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनू। नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्ष समेत रहनु भएका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरी दिनु होला।

२५ गते बेलुका ६ बजे ’सुसाइड नोट’ लेखी घरबाट बाहिरिएका आचार्यले अन्त्यमा भैँसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरी दिन आफन्तहरुसँग आग्रह गरेका छन्।

 

कमेन्ट लोड गर्नुस