सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋिण नतिरेको भन्दै म्यानपावर कम्पनीका एजेन्टले भत्काए ऋणीको घर

। फोटो स्रोत ।
२०७६ साउन २६, ०३:५० खबर संवाददाता

महोत्तरीमा विदेश पठाउने क्रममा लागेको रकम फिर्ता नगरेको भन्दै एक जनाले डोजर लगाएर ऋणीको घर भत्काएका छन्। महोत्तरीको भंगहा नगरपालिका १, कविलासा पूर्वारीटोलका मोहम्मद पनित शेखको घर स्थानीय एजेन्ट बद्री ठाकुरले डोजर लगाएर भत्काएका हुन्। 

शनिबार सम्पूर्ण परिवारलाई घरबाट निकालेर एजेन्ट ठाकुरले एकाएक डोजर लगाएर भत्काएको शेखकी श्रीमती जाहिरा खातुनले बताइन्। घर भत्काएपछि शेखका सम्पूर्ण परिवार विस्थापित भएका छन्। महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने घटनाका विषयमा थोरै मात्र जानकारी भएको बताएका छन्। पीडितले उजुरी नदिएकाले कारबाही प्रक्रिया अघि बढाउन नसकेको उनले बताए।

पीडित जाहिराका अनुसार शेख अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा छन्। आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाइ हुने कम्पनीमा काम पाइने भन्दै विदेश पठाइदिएका थिए। तर शेखले त्यहाँ गएपछि राम्रो काम र तलब नपाएको बताइएको छ। आफ्ना पति शेख विदेश गएपछि आफ्नो ससुरा अहम शेखसँग एजेन्ट ठाकुरले ८५ हजार रुपैयाँको जाली तमसुक बनाएको र सोही पैसाको ब्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम माग गर्ने गरेको र जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत हालेको जाहिराले बताइन्।

शेखको ५ धुर घडेरीमा काठ र माटोले बनाएको सानो घर थियो। विदेश गएपछि कमाएको पैसाले जेठी र माहिली छोरीको बिहे गरेको उनकी श्रीमती जाहिराले बताएन्। घरमा १७ र १५ वर्षका दुई छोरी र १० र ८ वर्षका दुई छोरा छन्। ‘विदेशमा पतिको कमाइ थोरै भएकाले घर व्यवहार चलाउन  र २ छोरीको बिहे गर्न बाहेक केही सकिएको छैन, बस्ने घर पनि एजेन्टले भत्काएर सडकमा र्पुयाए। अब हामी कहाँ बस्ने ?’ जाहिराले भनिन्। एजेन्टले पैसा असुलीका लागि मुद्दा हालेपछि गत असारमा ३ लाख रुपैयाँ दिएर हरहिसाब मिलाउन आग्रह गर्दा नमानेको र अहिले एकाएक घर भत्काएको जाहिराले बताइन्।

उता एजेन्ट ठाकुरले भने शेखको घर आफूले नभइ जिल्ला अदालत महोत्तरी र प्रहरी प्रशासनले भत्काएको दावी गरेका छन्। शेखले विदेश जानको लागि नभएर घर व्यवहारका लागि ७ वर्ष अघि २ लाख ५० हजार ऋण लिएको ठाकुरले बताए। उनले भने, ‘मसँग शेखले लिएको ऋण तिरेन। त्यसपछि मैले जिल्ला अदालत महोत्तरीमा असुल उपर गरी पाऊँ भनी मुद्दा हालेँ। डेढ वर्ष अघि अदालतले घरघडेरी लिलाम गर्न आदेश दियो’ ‘पटक पटक घर खाली गर्न आग्रह गर्दा समेत मानेन। शनिबार अदालत, प्रहरी प्रशासन मिलेर उसको घर भत्कायो। यसमा मेरो कुनै दोष छैन।’

तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने घटना सम्बन्धमा अनभिज्ञता देखाएको छ। यसैबीच भंगहा नगरपालिकाका प्रमुख संजिवकुमार साहले भने आफूले लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको, तर मुद्दा अदालतमा गएकाले केही गर्न नमिल्ने बताएका छन्। उनले प्रहरी प्रशासनले कानुनी प्रक्रिया अनुसार दोषीमाथि कारबाही गर्नुपर्ने बताए।

कमेन्ट लोड गर्नुस