सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

। फोटो स्रोत ।
२०७६ साउन २५, ११:०७ खबर संवाददाता

धादिङको बेनीघाटरोराङ–३ सलाङघाट त्रिशूली नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २१ जना अझै बेपत्ता छन्। मृतक मध्ये ५ को मात्रै सनाखत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो। कृष्णभीर निर फेला परेका २ शवको पनि पहिचान भएको छ। ती शवहरु मलंगवा १ निवासी ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीय नीमाको भएको आफन्तले पहिचान गरेका छन्।

कन्डक्टर उप्रेतीको शव गोर्खातर्फको किनारमा लागे पछि प्रहरीले दिएको तस्बिरका आधारमा आफन्तले शव पहिचान गरेका थिए। शुक्रबार देवघाट र जेगेडीमा फेला परेका ८ शवहरु मध्ये २ जनाको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए। दुर्घटनामा ज्यान गुमाएका एक महिला र एक बालिकाको सनाखत हुन सकेको छैन। घटनास्थलमा दुर्घटनामा बेपत्ता परिवारका आफन्तजनहरु आउनेक्रम जारी छ।

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौंतर्फ आउँदै गरेको सृष्टि डिलक्स ना ६ ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो। पृथ्वी यायायात समितिमा आवद्ध कृष्ण यातायातको उक्त बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो।केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए। दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालहरुमा उपचार भइरहेको छ। बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए।

दुर्घटनामा २१ भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताए। सशस्त्र प्रहरीले गोताखोरसहितको टोलीले शनिबार पनि त्रिशूलीमा डुंगाको प्रयोग गरि बेपत्ताको जारी राखेको छ।
 

कमेन्ट लोड गर्नुस