सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदको कृषि समितिबाट भूमिसम्बन्धी आठौँ संशोधन विधेयक पारित

। फोटो स्रोत ।
२०७६ साउन २३, ०५:४० खबर संवाददाता

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ पारित गरेको छ। समितिको बिहीबार सिंंहदरबारमा बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पेश गरेको विधेयक समितिका सदस्यहरु, संशोधनकर्ता सांसदहरु र विज्ञहरुको सुझावसहित पारित गरेको हो।

समितिका सदस्य, संशोधनकर्ता सांसदहरु र विज्ञहरुसहितको सुझावलाई समेटेर विधेयक पारित गरिएको समितिकी सभापति पूर्णाकुमारी सुवेदीले जानकारी दिए। समितिले पारित गरेको विधेयक छिट्टै प्रतिनिधिसभामा पेश गर्ने पनि जानकारी पनि दिए। समितिको २ महिना यताको लगातारको छलफलपछि पारित गरिएको विधेयकमा २०७६ साल असार मसान्तअघि नेपाल सरकारको स्वीकृति नलिइ कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले हदबन्दीभन्दा बढी जग्गा खरिद गरी उपयोग गरिरहेको छ भने एक पटकको लागि ती जग्गाहरु सम्बन्धित कम्पनीका लागि उपयोग गर्न दिने प्रावधान राखिएको छ।

त्यसैगरी शहरी क्षेत्रका भूमिहीन सुकुम्वासीहरुलाई आवश्यक्ता अनुसार नेपाल सरकारले आवास उपलब्ध गराउन वा सामुदायिक बसोबासको व्यवस्था मिलाउन वा जग्गा विकासका माध्यमबाट जग्गा उपलब्ध गराउन सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ। सभापति सुवेदीले पारित विधेयकमा सरकारी कार्यालय भवन निर्माणका लागि गौचरको जग्गा नेपाल सरकारको स्विकृति लिएर प्रयोग गर्न सकिने प्रावधान पनि विधेयकमा राखिएको बताए।

कमेन्ट लोड गर्नुस