सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन व्यवस्थापन सुधारका लागि २५ बुँदे प्रतिवेदन मुख्यमन्त्री शाहलाई बुझाइयो

२०८२ मंसिर २१, ०४:१७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई वनसम्बन्धी विभिन्न सरोकारवालाले तयार पारेको २५ बुँदे प्रतिवेदन बुझाइएको छ। कार्तिक २८ गते पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भएको छलफल तथा समिति बैठकपछि तयार पारिएको प्रतिवेदन कार्यान्वयनका लागि मुख्यमन्त्रीलाई पेश गरिएको हो।

प्रतिवेदन तयार गर्ने समितिमा प्रदेश वन निर्देशनालयका संयोजक हेमा राज विष्टसहित १७ जना सदस्य सहभागी थिए। समितिका सदस्य तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न बैठकले प्रदेशको वन व्यवस्थापन, संरक्षण, वातावरणीय सुधार, सामुदायिक, साझेदारी तथा सहकारी वनसम्बन्धी चुनौती र समाधानका उपायहरू समेटेर प्रतिवेदन तयार पारेको थियो।

समितिले अन्तिम प्रतिवेदन २५ बुँदामा तयार गरी मुख्यमन्त्रीसमक्ष पेस गरेको छ। आवश्यक निर्देशिका तथा कार्यान्वयन प्रक्रिया अघि बढाउन मन्त्रालयलाई सिफारिस गरिएको संयोजक विष्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

प्रतिवेदनमा वन प्रशासन सुधार, सामुदायिक तथा सहकारी वन सुदृढीकरण, वातावरणीय संरक्षण, वन क्षेत्रको समुचित उपयोग, अवैध दोहन नियन्त्रण, वन्यजन्तु संरक्षण, वन पर्यटन प्रवद्र्धन र संरक्षित क्षेत्रहरूको प्रभावकारी व्यवस्थापन जस्ता विषय समेटिएका छन्।

समितिमा वन निर्देशनालय, मन्त्रालय, सामुदायिक वन महासंघ, फेकोफन, पत्रकार महासंघ लगायतका सरोकारवालाका प्रतिनिधिहरू समावेश थिए।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिवेदनमा समेटिएका बुँदाहरूलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने बताएका छन्। उनले प्रचलित कानुन बमोजिम माग पुरा गरिने जानकारीसमेत दिएका छन्।
 

कमेन्ट लोड गर्नुस