सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटनसम्बन्धी भौतिक संरचना पुननिर्माण गर्दा नेपाली मौलिकता झल्किने गरी निर्माण गर्न ध्यानाकर्षण

। फोटो स्रोत ।
२०७६ साउन २२, ०५:२२ खबर संवाददाता

राष्ट्रियसभा सदस्यहरुले पर्यटनसम्बन्धी भौतिक संरचना पुननिर्माण तथा नवनिर्माण गर्दा नेपाली मौलिकता झल्किने गरी निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै सांसदहरुले विद्यमान भूमण्डलीकरणको अवस्था र आधुनिकता प्रतिको बढ्दो आकर्षणले भौतिक संरचनामा रहेका नेपाली मौलिक कला र संस्कृति लोप हुँदै गएकाले तीनको संरक्षण र विकासका लाई सचेत हुन सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते आईतबार अपराह्न १ बजेका लागि बोलाइएको छ।

सांसद डाक्टर बिमला राई पौड्यालले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै नेपाल विभिन्न जात जाति, धर्म परम्परा र कला र संस्कृतिले धनी देश भएकाले मौलिक नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको आवश्यकतामा जोड दिए। पुराना भौतिक संरचनाको जीर्णोद्धार, पुर्न्निर्माण र नयाँ बन्ने तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सार्वजनिक भौतिक संरचनामा मौलिक कला र संस्कृति झल्काउने कुराको सुनिश्चितता गर्नका लागि आफूहरुले सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको उनले स्पष्ट पारे।

‘जरुरी सार्वजनिक महत्वको प्रस्तावमा भूकम्प, पुराना भएका वा अन्य कुनै कारण क्षतिग्रस्त मठ मन्दिर, होटेल, संग्रहालय लगायतका सबै सार्वजनिक भौतिक संरचनाहरुको जिर्णोद्धार र पुननिर्माण गर्दा डिजाइन अवस्था देखि नै स्थानीय जातजाति, परम्परा झल्काउने मौलिक कला र संस्कृतिको उपयोग गर्ने। भैरहवा र पोखरामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलहरु,  देशका विभिन्न जिल्लामा बनेका वा बन्दै गरेका आन्तरिक विमानस्थलहरु, संघ, प्रदेश र स्थानीय तहमा बन्दै गरेका वा अब बन्ने मठ मन्दिर,संग्राहलय, सभा, सम्मेलन गृह, होटेल, कार्यालय भवन आदि  सार्वजनिक महत्वका र पर्यटनका दृष्टिकोणले ले महत्वपुर्ण भौतिक संरचना डिजाईन र निर्माणमा अनिवार्य राष्ट्रिय तथा स्थानीय नेपाली संस्कृति झल्काउने मौलिक कलाको उपयोग गर्ने, यसको लागि सम्बन्धीत निकायले आवश्यक मापदण्ड र कार्य्विधि बनाई लागू गर्ने’ प्रस्ताव गरिएको छ।  

सांसदहरु काली बहादुर मल्ल, रमेश जंग रायमाझी र प्रमिला कुमारीले सार्वजनिक महत्वको प्रस्तावको समर्थन गरेको थियो। जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको प्रस्तावको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई मौलिकता देखिने गरि बुटिक विमानस्थलको रुपमा रुपान्तरण गर्ने निर्णय भए अनुसार काम भइरहेको जानकारी गराए।

साथै अन्य विमानस्थलमा पनि नेपाली मौलिकता झल्काउने विषयलाई प्राथमिकतामा राखिने बताए। उनले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुमध्ये हालसम्म २ सय ७८ वटा सम्पदाको पुननिर्माणको काम सम्पन्न भएको र बाँकीलाई २ वर्ष्भित्र पूरा गर्नेगरी योजनाहरु परिमार्जन गरिएको बताए।  विश्व सम्पदा सूचीमा भएका सम्पदाहरु समेत क्षतिग्रस्त भएकाले ३ सय ८९ वटा थप सम्पदाको पुनर्निमाण सुरु गरि आर्थिक वर्ष ७६/७७ मा थप १ सय ५० वटा सम्पदा पुनर्निमाण सम्पन्न गर्ने मन्त्रालयको कार्ययोजना रहेको स्पष्ट पारे।

पुरातात्विक एवं ऐतिहासिक तथा सांस्कृति सम्पदाको जीर्णेाद्धारमा मौलिकता कायम राख्ने तथा निर्माणको क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यतालाई पालना गरिएको उल्लेख गर्दे उनले आवश्यक सामग्री र सीपमूलक जनशक्तिको अभाव  तथा स्थानीय सरकार र प्रदेश सरकारसंगको समन्वय पनि मिलाउनुपर्ने भएकाले पुननिर्माणमा ढिलाइ भएको बताए। प्राप्त सुझावलाई वस्तुनिष्ठ रुपमा कार्यान्वयन गर्नुको साथै विश्व सम्पदा र ऐतिहासिक स्थलका सम्बन्धमा युनेस्कोले निर्धारण गरेका मापदण्डको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

कमेन्ट लोड गर्नुस