सुदूर नेपाललाई विश्वसँग जोड्दै

जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु पक्राउ

। फोटो स्रोत ।
२०७६ साउन २१, ११:१३ खबर संवाददाता

नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन, सहितका नेता पक्राउ परेका छन्। जम्मू कश्मीरमा केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ। कश्मीरी पण्डितले सरकारको घोषणाको स्वागत गरे पनि मुस्लिम बाहुल्य क्षेत्रमा भने विरोध भइरहेकाले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जम्मू–कश्मीरको विशेष अधिकार खारेज गर्ने र लद्दाखलाई केन्द्र सरकारको मातहत राख्ने निर्णय गरेको भारत सरकारले यस्तो थप कदम चालेको हो। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल जम्मू कश्मीर गएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ। डोभल कडा सुरक्षा बन्दोबस्तका साथ जम्मू कश्मीर गएको खबरमा उल्लेख छ। उक्त प्रस्ताव आज भारतको लोकसभामा पेस हुँदैछ। 

यसैबीच भारतकोले जम्मू–कश्मीरसम्बन्धी आफ्नो निर्णयको पक्षमा अन्तर्रा्ष्ट्रिय समर्थन जुटाउन प्रयास थालेको छ। पाकिस्तानले त्यो निर्णयको विरोध गर्दै यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत उठाउने चेतावनी दिइरहेका बेला भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्रा्ष्ट्रिय समुदायसँगको संवाद सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसअघि जम्मू कश्मीरमा थप ८ हजार सुरक्षाकर्मी पठाइएको छ। त्यसअघि नै दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

यसैबीच जम्मू कश्मीरका बारेमा टर्कीले आफूलाई सहयोग गर्ने भएको पाकिस्तानले दावी गरेको छ। भारतको कदमसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको टेलिफोन कुराकानीमा टर्कीका राष्ट्रपति रेशेप तैय्यप अर्दोनानले यो विषयमा पाकिस्तानको पक्षमा रहने बताएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पाकिस्तानले यस विषयमा संयुक्त राष्ट्रसंघका स्थायी सदस्य देशका साथै अरु देशको पनि समर्थन जुटाउने प्रयास गरिरहेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एण्टेनियो गुटरेजलाई पत्र लेखेर पाकिस्तानी प्रधानमन्त्री खानले घटनाबारे तत्काल कदम चाल्न र खास अवस्थाबारे बुझ्न राष्ट्रसंघीय टोली जम्मू काश्मीर पठाउन पत्रमा माग गरिएको छ।पाकिस्तानी प्रधानमन्त्री खानले सोमबार मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसँग पनि कुराकानी गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस