सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता खारेज भनेर भ्रमको खेती र्गयो : राजपा नेता महतो

। फोटो स्रोत ।
२०७६ साउन २०, ०४:०७ खबर संवाददाता

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले भ्रमको खेती सुरु गरेको भन्दै आपत्ति जनाएका छन्। सोमबार संसद बैठकमा उनले आफ्नो बारेमा विभिन्न सञ्चार माध्यमले गलत समाचार प्रकाशित गरेको विषयप्रति ध्यानाकर्षण जनाउँदै यसमा सरकारले नियतवश सार्वजनिक गरेको नामका कारण भएको बताए।

आइतबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सार्वजनिक गरेको थियो। सो निर्णय सार्वजनिक भएसँगै कतिपयले राजपाका नेता महतोको नागरिकता खारेज भएको भन्दै विभिन्न सञ्चार माध्यमले फोटोसहित समाचार प्रकाशित गरेका थिए।

बैठकमा नेता महतोले सरकारका निर्णय सार्वजनिक गर्नेले वास्तविक तथ्य नभन्दा सरकारले नै भ्रमको खेती गर्न खोजेको हो कि भन्ने आशंका उब्जिएको बताए। सरकारले यस्तो संवेदनशील विषय सार्वजनिक गर्दा, देश र दुनियाँलाई जानकारी दिँदा स्पष्टसँग कहाँ को–को मान्छे भनेर सबै भन्नु पर्नेमा नाम मात्रै भनेर भ्रम छर्न खोजेको उनको आरोप छ। आफ्नो नामसँग मिल्ने व्यक्ति देशमा थुप्रै रहेको भन्दै त्यसबारेमा वास्तविक व्यक्तिको पहिचान नखुलाई नाम मात्र भन्नुले सरकारको नियतमाथि नै शंका रहेको उनले बताए।

सञ्चारमाध्यमले पनि वास्तविकता नबुझी समाचार प्रकाशित गर्नु गैरजिम्मेवार भएको भन्दै यस्तो क्रियाकलाप रोक्न सरकारसँग माग गरे। सरकार र मिडियाका कारण यसरी चरित्र हत्या गर्ने र मानहानी गर्ने काम बन्द गर्नुपर्ने माग उनको छ। सूचना दिनेले स्पष्टसँग दिनुपर्ने र सञ्चारमाध्यमले पनि जिम्मेवार भएर प्रस्तुत हुन आग्रह समेत गरे।

कमेन्ट लोड गर्नुस