सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४ वर्षपछि पनि सेती राजमार्ग अधुरो, अझै १४६ किलोमिटर ट्र्याक खोल्न बाँकी

२०८२ कार्तिक २५, ०१:०० खबर संवाददाता

टीकापुर: भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको सेती राजमार्ग निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अधुरो छ। कैलालीको टीकापुरदेखि बझाङको ताक्लाकोटसम्म ३५९ किलोमिटर लम्बाइको यो राजमार्गमध्ये हालसम्म २१३ किलोमिटर मात्रै ट्र्याक खुलेको छ, बाँकी १४६ किलोमिटर सडक अझै खोल्न बाँकी छ।

त्रिदेशीय व्यापारिक र धार्मिक मार्गका रूपमा कल्पना गरिएको सेती राजमार्गले सुदूरपश्चिमको रूपान्तरण गर्ने अपेक्षा थियो। तर, निर्माणमा भएको निरन्तर ढिलाइ र कमजोर बजेट व्यवस्थापनका कारण काम सुस्त बनेको छ।

आर्थिक वर्ष २०६६-६७ मा घोषणा भएको राजमार्ग निर्माण परियोजनाले सुरुवाती चरणमा सुस्त गति लिएको थियो। सन् २०७४-७५ देखि अछामको साँफेबगरमा दक्षिण खण्ड कार्यालय र बझाङको चैनपुरमा उत्तर खण्ड कार्यालय स्थापना गरेर काम अघि बढाइएको हो।

दक्षिण खण्डमा १६ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ, तर पछिल्ला आठ वर्षमा जम्मा १ अर्ब २५ करोड मात्र खर्च भएको छ। हालसम्म कैलालीमा ७२, डोटीमा ६ र अछाममा ६० किलोमिटर गरी १३८ किलोमिटर ट्र्याक खुलेको छ। बाँकी ६६ किलोमिटर सडकमा अझै काम थालिएको छैन।

उत्तरी खण्डका इन्जिनियर वीरेन्द्र यादवका अनुसार बझाङमा ७५ किलोमिटर ट्र्याक खुले पनि कठिन भू–भाग र बजेट अभावका कारण प्रगति देखिएको छैन। “भौगोलिक चुनौती र सीमित बजेटले काममा ढिलाइ भइरहेको छ,” यादवले बताए।

डोटी, अछाम र बाजुराका केही खण्डमा अझै सडक नखुल्दा सम्पर्क टुटेको छ। बाजुराको १२ किलोमिटर सडक खप्तड राष्ट्रिय निकुञ्जको ‘बफर जोन’मा परेकाले काम रोकिएको छ। निकुञ्जसँग सहमतिको प्रक्रिया जारी छ।

स्थानीय नेतृत्वका अनुसार वन क्षेत्रको समस्या समाधान भइसके पनि बजेट अभाव र राजनीतिक पहुँचको कमीले काम अघि बढ्न सकेको छैन। बाजुराका गाउँपालिका अध्यक्ष दिलबहादुर रावत भन्छन्, “सेती राजमार्ग बने बाजुराबाट ताक्लाकोट र धनगढी एकै दिन पुग्न सकिन्थ्यो, तर राजनीतिक ध्यान नपुग्दा योजना अलपत्र परेको छ।”

बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले यो सडक ढिलाइले सुदूरपश्चिमको समृद्धिमा प्रत्यक्ष असर परेको बताए। “अब तीनतिरबाट काम गर्न सक्ने अवस्था भए पनि बजेट घट्दै गएको छ,” उनले भने।

सेती राजमार्गले भारत र चीनलाई मात्र होइन, सुदूरपश्चिम र कर्णाली प्रदेशबीचको आर्थिक, सांस्कृतिक र धार्मिक सम्बन्ध बलियो बनाउने लक्ष्य राखेको छ। योजना आयोगका पूर्व सदस्य डा. प्रेमबहादुर कुँवरका अनुसार यो राजमार्गले हिमाल–पहाड–तराईलाई जोड्ने र पहाडी जिल्लाबाट हुने बसाइँसराइ घटाउने सम्भावना बोकेको छ।

कैलाली–डोटी–अछाम–बाजुरा–बझाङ हुँदै जाने यो मार्गले मध्यपहाडी र मदन भण्डारी राजमार्गलाई समेत जोड्ने भएकाले दार्चुला, बैतडी र डडेलधुराका बासिन्दालाई पनि यात्रा सहज बनाउनेछ।
 

कमेन्ट लोड गर्नुस